उत्पादन बढाउन किसानका खेतबारीको माटो परीक्षण

शुक्रबार, २१ बैशाख, २०८१
डिजिटल संस्करण

धादिङको बेनीघाट रोराङ गाउँपालिकाका किसानको खेतबारीको माटो परीक्षण गरिएको छ। माटोको अवस्था र उर्वरा शक्तिबारे जानकारी लिएर मलजलको मात्रा सन्तुलन गरी उत्पादकत्व बढाउने उद्देश्यले शिविर सञ्चालन गरी माटोको नमुना परीक्षण गरिएको हो।

माटो तथा मल परीक्षण प्रयोगशाला हेटौँडा र बेनीघाट रोराङ गाउँपालिकाको समन्वयमा माटो परीक्षण शिविर सञ्चालन गरिएको हो। दुई सय ४० जना किसानले संकलन गरेर ल्याएको फरक–फरक स्थानको माटोमा भएको नाइट्रोजन, फस्फोरस, पोटास, प्रांगारिक पदार्थ एवं माटोको पिएच मापन गरिएको हो।

कृषिजन्य उत्पादनको उत्पादकत्व बढाई किसानलाई आत्मनिर्भर बनाउन माटाको परीक्षण गरिएको बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक)ले बताए।

‘कृषि उत्पादनलाई जोड दिन १० वटै वडाको किसानसँग परीक्षणका लागि माटो मगाएर परीक्षण गर्यौँ। रिपार्टअनुसार माटो सुधार्ने र कस्तो माटोमा कस्तो खेती हुन्छ नीति तथा कार्यक्रममा नै समावेश गरेर कृषि क्षेत्रलाई जोड दिने तयारीमा छौँ,’ उनले भने। 

गाउँपालिका उपाध्यक्ष टापबहादुर श्रेष्ठले माटोमा भएका उर्वराशक्तिलाई थप बिग्रन नदिनुका साथै सुधारका काम गर्न माटो परीक्षण उपयोगी हुने बताए। 

प्राविधिकको टोलीले बालीनालीका लागि आवश्यक पर्ने खाद्य तत्त्वबारे पहिचान गरेर सुहाउँदो मल, बिउ एवं विषादी प्रयोगबारे समेत कृषकलाई सुझाव दिएको उनले बताए।

माटो बोकेर प्रयोगशालासम्म किसान पुग्न नसक्ने भएकाले किसानको सहजताका लागि माटो परीक्षण शिविर सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत नर्मदा घिमिरेले बताइन्। 

उनले भनिन्, ‘कस्तो माटोमा के खेती गर्ने र माटोको अवस्था हेरेर उपचार गर्न सकियो भने राम्रो उत्पादन लिन सकिन्छ। सीमान्तकृत चेपाङ समुदाय रहेको बेनीघाट गाउँपालिकामा धेरै किसानलाई वर्षभरि खानसमेत पुग्ने अवस्था छैन। उत्पादन बढाउने र किसानलाई आत्मनिर्भर बनाउन माटो परीक्षण गरिएको हो।’

माटोको अम्लीय, नाइट्रोजन, फस्फोरस, पोटास, प्रांगारिक पदार्थको अवस्थाबारे परीक्षण गरिएको माटो तथा मल परीक्षण प्रयोगशाला हेटौँडाका अधिकृत शिवबाबु जोशीले बताए। 

‘माटोमा विभिन्न तत्त्व त हुन्छ। तर, किसानले लगाएका बालीका लागि आवश्यक छ कि छैन। कुन तत्वको कमी छ त्यही तत्त्व बारीमा थप्नुपर्ने हुन्छ,’ उनले भने, ‘रिपाेर्टअनुसार किसानलाई सुझाव दिएर माटोको अवस्थाअनुसार माटोलाई चाहिने तत्त्वहरू हाल्न सिफारिस दिन्छौँ। प्रत्येक तीन वर्षमा माटोको परीक्षण गरी किसानले खेती गरे उत्पादन वृद्धि हुन्छ।’
 

सुझावित समाचार