बाराको निजगढ नगरपालिका– १० स्थित लालमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा स्थानीयले तालाबन्दी गरेपछि पठनपाठन अवरुद्ध भएको छ । स्थानीयले शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेपछि जिल्ला शिक्षा समन्वय एकाइ बाराबाट सिफारिसमा निजगढ नगरपालिका शिक्षा समितिले पदस्थापना गरेका शिक्षकहरूलाई हाजिर नगराउन भन्दै केही अभिभावकले विद्यालयका प्रधानाध्यापक दीनानाथ साहको कार्यकक्षमा गत मंगलबार तालाबन्दी गरेका थिए ।
प्रधानाध्यापक साहको कार्यकक्षमा भएको तालाबन्दीको खोल्नेबारे पहल नभएपछि विद्यालयका शिक्षक–कर्मचारीले बिहीबारबाट पठनपाठन ठप्प पार्ने निर्णय गरेका हुन् । बिहीबार बसेको शिक्षक–कर्मचारीको संयुक्त बैठकले केही मान्छेले विद्यालयका प्रधानाध्यापक साहको कार्यकक्षमा तालाबन्दी गरेपछि पठनपाठनका लागि सहज वातावरण नभएको भन्दै तालाबन्दी नखोलिएसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।
शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेका दुईजना शिक्षकलाई जिल्ला शिक्षा समन्वय एकाइको सिफारिसमा निजगढ नगरपालिका शिक्षा शाखाले नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा पदस्थापना गर्ने निर्णय गरेपछि रुष्ट बनेका केही अभिभावकले प्रधानाध्यापक साहको कार्यकक्षमा तालबन्दी गरेका थिए । उनीहरूले निजगढ नगरपालिका– १३ स्थित भगवती आधारभूत विद्यालयका प्रधानाध्यापक उदयराज अधिकारीलाई रिक्त दरबन्दीमा हाजिर गराउनुपर्ने माग गरेका छन् ।
विद्यालय प्रशासनले भने नगर शिक्षा समितिले पदस्थापना गरेका शिक्षकहरूलाई प्राथमिकतामा राखेर हाजिर गराउनुपर्ने अवस्था रहेको र सरुवा प्रक्रिया पनि पूरा नभएकाले शिक्षक अधिकारीलाई हाजिर गराउन नसकिने जनाएको छ । अधिकारीले आफू कार्यरत विद्यालयबाट सरुवा सहमति लिएको भए पनि हाजिर हुन आउने भनिएको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट भने कुनै सहमति लिएका छैनन् । ‘सहमति माग गर्न आउनुभएको थियो,’ प्रधानाध्यापक साहले भने, ‘तर, विद्यालयमा व्यवस्थापन समितिको म्याद समाप्त भएकाले सहमतिपत्र दिन सकिएन ।’ उनले समितिको निर्णयबेगर प्रधानाध्यापकले एक्लै सरुवा सहमति दिन नसक्ने पनि बताए । विद्यालयमा अभिभावकबाट चुनिने चारजना सदस्यको चयन भइसकेको भए पनि व्यवस्थापन समितिले पूर्णता पाउन नसकेको प्रधानाध्यापक साहले जानकारी दिए ।
नगर शिक्षा समितिले आयोगको परीक्षा उत्तीर्ण गरेर नगरपालिकामा शिक्षा समन्वय एकाइबाट सिफारिस लिएर आएकी रेखा साह र लक्ष्मी रावललाई शिक्षा समितिले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लालमा पदस्थापना गर्ने निर्णय गरेको थियो । शिक्षा समितिको गत चैत ३० गतेको बैठकले उक्त विद्यालयमा पदस्थापना गर्ने निर्णय गरेको हो ।
निजगढ नगरपालिका– १० का वडाध्यक्ष आशाकाजी श्रेष्ठले विद्यालयजस्तो पवित्र संस्थामा तालाबन्दी गर्नु राम्रो कार्य नभएको बताए । उनले शिक्षा समितिले आयोगको परीक्षा उत्तीर्ण गरेर आएका शिक्षकको पदस्थापन गर्ने निर्णय गरेकोले शिक्षक अधिकारीलाई सोही दरबन्दीमा सरुवा गरेर ल्याउन नमिल्ने पनि बताए । विद्यालयमा हाल चार सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।