कञ्चनपुर दक्षिणी क्षेत्र बेलडाँडीको सिमसार दलदलमा परिणत भएको जमिन पुनरुत्पादनका लागि ड्रेन्च निर्माण गरिएको छ। बेलडाँडी गाँउपालिका– १ को सिमसार जमिन पुनरुत्पादनका लागि ड्रेन्च निर्माण गरिएको हो । झन्डै अढाई दशकअघि निर्माण भएको महाकाली सिँचाइ नहरको पानी चुहिएर खेतीयोग्य जमिन सिमसारमा परिणत भएको थियो । खेत सिमसारमा परिणत भएपछि किसानले २५ वर्षदेखि अन्नबाली लगाउन पाएका थिएनन् । बेलडाँडीको सिमसार जमिनमा पुनरुत्पादनका लागि महाकाली सिँचाइ व्यवस्थापन कार्यालय, जल उपभोक्ता संघ केन्द्रीय एवं द्वितीय समितिले सिमसार जमिनमा एक्स्काभेटर लगाएर ड्रेन्च निर्माण गर्न लागिएको हो ।
महाकाली सिँचाइ जल उपभोक्ता संघ केन्द्रीय समितिका अध्यक्ष भीमबहादुर थापाले बेलडाँडी बजारदेखि झिलमिला बस्ती हुँदै झर्नाखोलासम्म डेन निर्माण गरिएको बताए । उनका अनुसार पहिलो चरणमा दुई सय मिटर लामो ड्रेन्च निर्माण गरिनेछ । ‘पहिलो चरणमा हामीले झर्नाखोलासम्म ड्रेन्च निर्माण गर्छौँ,’ उनले भने, ‘बेलौरी नगरपालिका– ९ रतनपुर हुँदै कमरीसम्मै निर्माण गर्ने योजना छ ।’ नहर चुहिएर बेलडाँडी गाउँपालिका– १ को मात्रै डेढ हजार बिघा खेतीयोग्य जमिन सिमसार र दलदलमा परिणत भएको छ । २५ वर्षदेखि खेतीपाती लगाउन छाडेका किसान अब खेत सुधार भएसँगै कृषितर्फ उन्मुख हुने भएका छन् ।
महाकाली सिँचाइ जल उपभोक्ता संघ द्वितीय चरणका अध्यक्ष गोपाल कुँवरले दलदल जमिनमा नाला निर्माण भएसँगै जमिन खेतीपाती गर्न सहज हुने बताए । ‘खेतमा पानी जन्म नपाएपछि जमिनमा खनजोत गर्न सहज हुनेछ,’ उनले भने, ‘खेत पुनरुत्पादनमा परिणत हुन्छ ।’ भएको जमिन सिमसारमा परिणत भएपछि स्थानीय किसान गुजारा चलाउन भारत पसेका छन । खेत सुधार भएपछि किसानहरूले स्वदेशमै कृषि उद्यम गर्ने बताएका छन् ।
बेलडाँडीका स्थानीय किसान रमेश लुहारले खेतमा जमेको पानी निकासबाट खेत सुधार भएपछि नगदेबाली उखुसहितका धानखेती गर्न सकिने बताए । ‘अब यो जमिन दीर्घकालीन रूपमा सुधार गर्नुपर्छ,’ उनले भने, ‘हजारौँ बिघा जमिन वर्षौँदेखि बाँझै रहँदा हामीले गुजारा चलाउन भारत जानुपर्ने बाध्यता थियो । अब स्वदेशमै उखुसहितका अन्नबाली लगाएर आत्मनिर्भर बन्छौँ ।’ यसअघि बेलडाँडीकै खैरीघाट, झिलमिला, वैवाहलगायतका क्षेत्रको जमिनमा पानीको निकास गरेपछि उक्त स्थानहरूमा अहिले किसानले खेती लगाइरहेका छन् ।