उपनिर्वाचनको नतिजालाई कांग्रेसले कसरी हेरेको छ ?
यसलाई हामीले स्वाभाविक मानेका छौँ । हिजो गठबन्धनमा हुँदा अनुकूल परिणाम आएको थियो भने आज गठबन्धनबाहिर रहँदा प्रतिकूल नतिजा आएको छ । हामीले प्रतिस्पर्धामै हारजित हुने अपेक्षा गरेका थियौँ । तर, इलाममा माओवादीले घोषित रूपमै एमालेलाई सघाउँदा मतान्तर बढी देखियो । बझाङमा ‘टेक्निकल’ हार भए पनि हामी एक्लै लड्दा पनि कमजोर रहेनछौँ भन्ने देखिएको छ । समग्रमा हेर्दा हामीले एक्लै निर्वाचन लड्दा पनि सकभर पहिलो नभए दोस्रो पक्कै हुन्छौँ भन्ने देखिएको छ । यो परिणामले कांग्रेसको लोकप्रियता खस्कियो, कांग्रेस कमजोर भयो भन्नेहरूलाई जवाफ दिएको छ ।
निर्वाचनअघिको गठबन्धनबारे उपनिर्वाचनले कस्तो सन्देश दिएको देख्नुहुन्छ ?
कुनै पनि निर्वाचन एक्लै लड्ने तयारी गर्दा पार्टीभित्रको जीवनमा ऊर्जा थपिन्छ । सबैको क्रियाशीलता बढ्छ । साथै, धेरै साथीले विभिन्न जिम्मेवारी पाउँदा आन्तरिक शक्ति मजबुत हुन्छ । अलिक राम्रो आन्तरिक तयारी गरेर एक्लै निर्वाचनमा जाँदा हामीले जनताको विश्वास जित्न कठिन छैन । जनताले हाम्रा नीति, कार्यक्रम तथा योजनामाथि विश्वास गर्नुहुन्छ भन्ने यसपटकको निर्वाचनले पनि देखाएको छ ।
भावी दिनका लागि यो परिणामबाट कांग्रेसले के सिक्यो त ?
हाम्रा आन्तरिक सांगठनिक कमी कमजोरी सच्याउनु छ । भ्रातृ संस्थाहरूको क्रियाशीलता बढाउनु छ । नियमित अवस्थामा ०८३ मै सम्पन्न गर्नुपर्ने महाधिवेशन समयमै गर्नु छ । अहिले हामी जुनजुन स्थानमा शासकीय भूमिका र जुनजुन स्थानमा संसदीय भूमिकामा छौँ, त्यहाँको भूमिका प्रभावकारी बनाउनु छ । यति गर्न सकियो भने आगामी दिनमा थप सहज हुने हामीले यो परिणामबाट देखेका छौँ ।