टी–२० विश्वकपमा नेपालका यस्ता प्रतिद्वन्द्वी

शुक्रबार, २१ बैशाख, २०८१
डिजिटल संस्करण
टी–२० विश्वकपमा नेपालका यस्ता प्रतिद्वन्द्वी

तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

१० वर्षपछि नेपालले आगामी जुनमा आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्दै छ । गत वर्ष नेपालले मूलपानी मैदानमा युएईलाई सेमिफाइनलमा हराउँदै विश्वकपमा स्थान पक्का गरेको हो । सन् २०१४ मा नेपालले पहिलोपटक विश्वकप खेलेको थियो । पारस खड्काको कप्तानीमा नेपालले पहिलोपटक विश्वकप खेल्दा उत्कृष्ट प्रदर्शन गरेको थियो । त्यसवेला नेपालले पहिलोपटक टी–२० फम्र्याटमा अफगानिस्तान र हङकङलाई स्तब्ध पारेको थियो । आयोजक बंगलादेशसँग झिनो अन्तरले पराजित नेपाल दोस्रो चरणसम्म पुग्न सकेन । 

अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्ने नवौँ संस्करणमा नेपालले उत्कृष्ट प्रदर्शनको लक्ष्य राखेको छ । नेपाल समूह ‘डी’मा छ । यस समूहमा एकपटकको टी–२० च्याम्पियन श्रीलंका र विश्व क्रिकेटकै बलियो राष्ट्र दक्षिण अफ्रिका छन् । सन् २०१४ मा श्रीलंकाले विश्वकप जितेको थियो । दक्षिण अफ्रिका दुईपटक सेमिफाइनलमा पुगेको राष्ट्र हो । 

आइसिसीको पूर्णकालीन सदस्य बंगलादेश र एसोसिएटतर्फको बलियो नेदरल्यान्ड्सविरुद्ध नेपालले प्रतिस्पर्धा गर्नेछ । नेपालबाहेक अन्य टोलीका खेलाडी अनुभवी हुन् । नेपालले विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजको ‘ए’ टोलीविरुद्ध त्रिवि क्रिकेट मैदानमा पाँच खेलको टी–२० सिरिज खेलिरहेको छ । नेपालले एक खेलअघि नै सिरिज गुमाए पनि वेस्ट इन्डिजका टेस्ट, एकदिवसीय र टी–२० खेल खेलेका खेलाडीविरुद्ध प्रतिस्पर्धा गर्ने अवसर पाइरहेको छ । यस सिरिजबाट नेपालले विश्वकपअघि आफ्नो कमजोरी केलाउने अवसर पाएको छ । 

नेपालले विश्वकपका लागि स्पिनर सागर ढकाल र फास्ट बलर कमलसिंह ऐरीलाई समावेश गरी टोली घोषणा गरिसकेको छ । टोलीमा डेढ वर्षदेखि निरन्तर खेलिरहेका सोमपाल कामी सबैभन्दा अनुभवी खेलाडीमा पर्छन् । वर्तमान टोलीमा विश्वकप खेलेको अनुभव उनीसँग मात्र छ । सन् २०१४ को विश्वकपमा उनी टोलीका सदस्य थिए ।

नेपालले आफ्नो समूहमा अन्तर्राष्ट्रिय खेलका अनुभवी खेलाडीविरुद्ध प्रतिस्पर्धा गर्नेछ । दक्षिण अफ्रिका र श्रीलंकाली टोलीमा विश्वस्तरीय फ्रेन्चाइज टी–२० लिग खेलिरहेका खेलाडी छन् । यी राष्ट्रविरुद्ध खेल्न नेपालले ब्याटिङ र बलिङमा व्यापक सुधार गर्नुपर्छ । पछिल्लो समय यी पक्षमा नेपालले एकनासको प्रदर्शन गर्न सकिरहेको छैन । ओपनर कुशल भुर्तेल र आरिफ शेख वेस्ट इन्डिजविरुद्धको सिरिजमा खासै चल्न सकेनन् । कप्तान रोहितले मध्यक्रममा कप्तानी इनिङ्स खेलिरहेका छन् । विश्वकपअघि वेस्ट इन्डिजसँगको अभ्यास खेलले नेपालले आफूलाई सुधार गर्ने अपेक्षा छ ।

दुई विश्वकप खेल्ने एक मात्र खेलाडी सोमपाल
नेपालले घोषणा गरेका १५ खेलडाीमध्ये सोमपाल कामी दोस्रोपटक टी–२० विश्वकप खेल्दै छन् । सन् २०१४ मा हङकङविरुद्ध उनले टी–२० आईमा डेब्यु गरेका थिए । नेपाली टोलीकै सर्वाधिक अनुभवी अलराउन्डर सोमपालले ६५ टी–२० आईमा ५८ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन नै २० रन खर्चेर तीन विकेट लिनु हो । यसैगरी, टी–२० आईको ब्याटिङमा उनले ६५ खेलमध्ये ३८ इनिङ्समा ३१५ रन बटुलेका छन् । उनले २५ चौका र १३ छक्का प्रहार गरेका छन् । यस फम्र्याटमा उनी २२ पटक क्याच आउट भएका छन् । 

 द. अफ्रिका (टी–२० वरीयता ६)
नेपालको समूहमा आइसिसी टी–२० वरीयताअनुसार शीर्ष स्थानमा रहेको टोली दक्षिण अफ्रिका हो । क्रिकेट इतिहासमा दक्षिण अफ्रिकालाई अभागी राष्ट्रका रूपमा चिनिन्छ । आइसिसीले आयोजना गर्ने हरेक प्रतियोगितामा दक्षिण अफ्रिकालाई सधैँ उपाधि दाबेदारका रूपमा हेरिन्छ । तर, निर्णायक खेलमा खराब प्रदर्शन गर्ने यस टोलीको बानी नै भइसकेको छ । सन् १९९२ मा अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएको टोलीले अहिलेसम्म आइसिसीले आयोजना गरेको ५० ओभर र टी–२० विश्वकप ट्रफी जितेको छैन । टी–२० विश्वकप लगातार खेल्ने दक्षिण अफ्रिकाको उच्च प्रदर्शन नै सेमिफाइनलसम्म हो । सन् २००९ र २०१४ मा यो टोली दुईपटक अन्तिम चारमा प्रवेश गरेको इतिहास छ ।

 श्रीलंका (टी–२० वरीयता ८)
समूह ‘डी’मा एकदिवसीय र टी–२० विश्वकप एक–एकपटक उचालेको श्रीलंकाको पहिलो लक्ष्य नै समूह चरण पार गर्नु हो । श्रीलंका आइसिसीको वरीयतामा आठौँ स्थानमा छ । सन् २००७ देखि निरन्तर टी–२० विश्वकप खेलिरहेको श्रीलंकाले सन् २०१४ को फाइनलमा भारतलाई हराउँदै पहिलोपटक उपाधि जितेको थियो । सन् १९९६ मा पहिलोपटक ५० ओभरको विश्व च्याम्पियन बनेको यस टोलीले टी–२० विश्वकपमा ६१.७६ प्रतिशत जित निकालेको छ । टी–२० विश्वकपमा श्रीलंका दुईपटक उपविजेता बनेको छ । यो टोली अन्य संस्करणमा दोस्रो चरणसम्म मात्रै पुगेको छ । यसपटकको विश्वकपमा श्रीलंकाले आइपिएल तथा घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई समावेश गरेको छ । 

 बंगलादेश (टी–२० वरीयता ९)
आइसिसीको एसियन राष्ट्रमध्ये बंगलादेश पूर्ण सदस्य हो । टी–२० विश्वकपमा निरन्तर सहभागी राष्ट्र बंगलादेश दोस्रो चरणभन्दा माथि पुग्न सकेको छैन । आइपिएल तथा घरेलु सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी समावेश गरी टोली घोषणा गर्ने क्रममा बंगलादेश रहेको छ । बंगलादेश आइसिसीको नवौँ वरीयतामा छ । तीनपटक पहिलो चरणसम्म रोकिएको बंगलादेशले पाँचपटक दोस्रो चरणमा स्थान सुरक्षित गरेको थियो । बंगलादेशको मुख्य हतियार नै अलराउन्डर सकिब अल हसन हुन् । उनी आइसिसी टी–२० को अलराउन्ड वरीयताको शीर्ष स्थानमा छन् ।

नेदरल्यान्ड्स (टी–२० वरीयता १५)
एसोसिएट राष्ट्रमा नेपालको कडा प्रतिद्वन्द्वीका रूपमा नेदरल्यान्ड्स पनि हो । एसोसिएट राष्ट्रबाट धेरैपटक विश्वकप खेल्ने राष्ट्रमा नेदरल्यान्ड्स पर्छ । यस टोलीको यो छैटौँ सहभागिता हो । सन् २००९ मा नेदरल्यान्ड्सले पहिलोपटक विश्वकप खेलेको थियो । नेदरल्यान्ड्सले सन् २०१४ देखि लगातार विश्वकप खेलिरहेको छ । तीनपटक पहिलो चरण र दुईपटक दोस्रो चरणसम्म पुगेको यस युरोपियन राष्ट्रको यो छैटौँ सहभागिता हो । नेपाल र नेदरल्यान्ड्स अहिले आइसिसी विश्वकप लिग २ मा छन् ।  

 वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले गुमायो सिरिज
एक खेलअघि नै नेपालले वेस्ट इन्डिज ‘ए’ टोलीविरुद्धको टी–२० सिरिज गुमाएको छ । बिहीबार त्रिवि क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा तीन विकेट गुमाएर २०९ रन बनाएको थियो । प्रत्युत्तरमा नेपालले २० ओभरमा सबै विकेटको क्षतिमा १८१ रन जोड्दा वेस्ट इन्डिज २८ रनले विजयी भयो । नेपालका लागि कप्तान रोहित पौडेलले ४७ बलमा सर्वाधिक ८२ रन जोडेका थिए ।  

सुझावित समाचार