१.९४ अर्ब विद्युत् बक्यौताले रोकियो रिलायन्सको आइपिओ

बिहिबार, २० बैशाख, २०८१
डिजिटल संस्करण

विद्युत् प्राधिकरणको एक पत्रले रिलायन्स स्पिनिङ मिल्सको आइपिओमा तत्कालका लागि लगाम लागेको छ । बुक बिल्डिङ विधिमार्फत सार्वजनिक निष्कासन (आइपिओ) पहिलो चरणमा संस्थागत लगानीकर्तालाई खुला गरेर बाँडफाँड भइसकेपछि सर्वसाधारणका लागि निष्कासन गर्ने अन्तिम चरणमा बोर्डले रोकेको हो । 

 प्राधिकरणले धितोपत्र बोर्डमा आइपिओ निष्कासनको अनुमति नदिन पत्र पठाएसँगै प्रक्रिया रोकिएको धितोपत्र बोर्डका एक अधिकारीले बताए । उनले भने, ‘प्राधिकरणले कम्पनीको बक्यौता (दायित्व) रहेको भन्दै पत्र पठाएपछि अनुमति पाएर पनि रोकिएको हो ।’ प्राधिकरणले बोर्डमा पठाएको पत्रअनुसार कम्पनीको बक्यौताबापतको दायित्व  एक अर्ब ९४ करोड छ ।

बुक बिल्डिङ विधिमार्फत प्रतिकित्ता आठ सय २० रुपैयाँ ८० पैसाको दरले रिलायन्स स्पिनिङ मिल्सले आइपिओ निकाल्ने तयारी गरेको थियो

एउटा सरकारी निकायले अर्को सरकारी निकायलाई पत्र नै काटेर अंकित मूल्यभन्दा माथि (प्रिमियम मूल्य)को अनुमति नदिन २५ पुसमा पत्र पठाएपछि अनुमति दिन नसकिएको बोर्डको भनाइ छ । बोर्डले प्राधिकरणको पत्र आउनुअगावै अनुमति दिइसकेको हुँदा संस्थागत लगानीकर्तालाई जारी गरिएको प्राधिकरणले जनाएको छ । 

अहिले सर्वसाधारणका लागि कम्पनीको आइपिओ पाइपलाइनमै रहेको छ । प्रतिकित्ता आठ सय २० रुपैयाँ ८० पैसाको दरले न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने छ । कम्पनीले संस्थागत लगानीकर्ताका लागि १० माघमा निष्कासन खुला गरेको थियो ।

कम्पनीको जारी पुँजी एक अर्ब ९० करोडको १० दशमलव १४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजारबराबरको १९ लाख २६ हजार कित्ता सेयर निष्कासन हुन लागेको छ ।जसमा ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार कित्ता सेयर ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँमा बोलकबोल भएको थियो । उक्त बोलकबोलबाट कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको छ । उक्त कटअफ मूल्यमा १० प्रतिशतले घटाएर सर्वसाधारणलाई सेयर निष्कासन गर्नुपर्ने व्यवस्था छ । बोर्डका अनुसार कम्पनीको प्राधिकरणसँगको दायित्व पूरा नभएसम्मका लागि आइपिओ निष्कासनको अनुमति पाउने सम्भावना छैन । 

सुझावित समाचार