आर्थिक वृद्धिदर ३.६ प्रतिशत पुग्ने एडिबीको प्रक्षेपण

एडिबीको रिपोर्ट भन्छ– नेपाली अर्थतन्त्र क्रमशः सुधारोन्मुख, चुनौती कायमै

शुक्रबार, ३० चैत, २०८०
डिजिटल संस्करण

एसियाली विकास बैंक (एडिबी)ले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । एडिबीको प्रकाशन ‘एसियाली विकास परिदृश्य–२०८०’ ले यस्तो प्रक्षेपण गरेको हो । यो प्रक्षेपण गत आर्थिक वर्ष ०७९/८० को अनुमानित १.९ प्रतिशत वृद्धिको तुलनामा बढी हो ।

‘मौद्रिक नीतिमा क्रमिक लचकतासँगै उपभोक्ता र लगानीकर्ताको आत्मविश्वासमा सुधारसँगै आर्थिक गतिविधि प्रोत्साहित हुने अपेक्षा गरिएको छ,’ नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आर्नो कोस्वाले भने, ‘यसका अतिरिक्त, सरकारले आर्थिक वर्षको पछिल्लो ६ महिनामा पुँजीगत खर्चमा दिएको तीव्रता र आर्थिक वर्ष ०८०/८१ को अन्त्यसम्म थप जलविद्युत् परियोजनाको उत्पादन सुरु भई आर्थिक वर्ष ०७९/८० मा औद्योगिक वृद्धि बढ्दै जाने प्रक्षेपण गरिएको छ ।’ 

कर्जा नियन्त्रणमा सहजता, ब्याजदरमा थप गिरावट र पर्यटन आयमा विस्तारले सेवा क्षेत्रको वृद्धिले पनि गति दिनेछ । धान उत्पादनमा वृद्धि भए पनि हिउँदे वर्षाको कमीका कारण हिउँदे बाली र अन्य कृषि उत्पादनमा आएको कमीले कृषि क्षेत्रमा पनि आर्थिक वर्ष ०७९/८० को २.७ प्रतिशतको तुलनामा २.८ प्रतिशतको वृद्धि हुन सक्नेछ । मनसुनी अनुकूलता बढ्दै गइरहेको र विभिन्न बालीको उपयोगले कृषिमा सुधार हुने अपेक्षा छ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनाको उच्च ब्याजदर र आयातको अवरोधले उद्योग क्षेत्रमा ०.६ प्रतिशतले मात्रै वृद्धि हुने प्रक्षेपण छ । बढ्दो विद्युतीकरणले ऊर्जा क्षेत्रमा भने १९.४ प्रतिशतले वृद्धि हुने अनुमान छ । एडिबीले आगामी आर्थिक वर्षमा ४.८ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।

एसियन डेभलपमेन्ट आउटलुक ०८०/८१ का अनुसार पेट्रोलियमको मूल्यमा देखिएको गिरावट र भारतमा मुद्रास्फीति न्यूनीकरणसँगै नेपालमा औसत मुद्रास्फीति आर्थिक वर्ष ०७९/८० को ७.७ प्रतिशतको तुलनामा आर्थिक वर्ष ०८०/८१ मा ६.५ प्रतिशतमा झर्ने प्रक्षेपण छ ।

बाह्य क्षेत्र जोखिम सापेक्ष रूपमा नियन्त्रणमा रहेको छ । आर्थिक वर्ष ०८०/८१ को पहिलो ६ महिनामा बचतमा रहे पनि चालू खाता पुनः घाटामा जान सक्ने देखिन्छ । अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनासँग तुलना गर्दा वार्षिक व्यापार घाटा आर्थिक वर्ष ०८०/८१ मा ४.७ प्रतिशतले घटेको छ भने सो अवधिमा विप्रेषण आप्रवाह २२.६ प्रतिशतले वृद्धि भएको छ भने चालू खाता बचत १.२ बिलियन अमेरिकी डलर पुगेको छ । 

यद्यपि, यस आर्थिक वर्षको बाँकी अवधिमा उच्च आयात र स्थिर रेमिट्यान्स आप्रवाहले आर्थिक वर्ष ०८०/८१ मा चालू खाता घाटा कुल गार्हस्थ्य उत्पादनको ०.७ प्रतिशत प्रतिशत पुग्ने प्रक्षेपण छ ।‘विश्व अर्थतन्त्रमा देखा पर्न सक्ने शिथिलताले नेपालको पर्यटन तथा विप्रेषणप्राप्तिमा प्रभाव पर्न गई आर्थिक वर्ष ०८०/८१ को आर्थिक परिदृश्यमा ह्रास आउने जोखिम रहेको छ,’ एडिबीका प्रमुख अर्थशास्त्री इयान हासिनले भने ।

गहिरिँदो भूराजनीतिक हलचलले आपूर्ति शृंखला हुन सक्ने अवरोधले विश्वव्यापी मुद्रास्फीति र वित्तीय अवस्थामा कडाइ सिर्जना गर्न सक्छ । यसले आन्तरिक मौद्रिक नीति कसिलो बनाउन प्रेरित गर्नुका साथै लगानी र उपभोगमा ह्रास आई आर्थिक वृद्धिलाई तल धकेल्न सक्ने प्रतिवेदनमा उल्लेख छ ।

भारतमा मुद्रास्फीति दर र अन्तर्राष्ट्रिय पेट्रोलियम पदार्थ मूल्यमा स्थिरता आउने अनुमानले चालू आर्थिक वर्षमा नेपालको मुद्रास्फीति ६.५ प्रतिशत र आगामी आर्थिक वर्षमा ६ प्रतिशत कायम रहने एडिबीको अनुमान छ ।

See More On

सुझावित समाचार