भैरवनाथको रथ भाँचियो

बुधबार, २८ चैत, २०८०
डिजिटल संस्करण
भैरवनाथको रथ भाँचियो

बिस्का जात्राको पहिलो दिन पाँचतले मन्दिरस्थित टौमढीबाट तान्न सुरु गरेको प्यागोडा शैलीको भैरवनाथको रथ । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका ।

भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्का जात्राको पहिलो दिन पाँचतले मन्दिरस्थित टौमढीबाट तान्न सुरु गरेको प्यागोडा शैलीको भैरवनाथको रथ भाँचिएको छ। 
मंगलबार दिउँसो ३ बजेदेखि हजाराैँ जात्रालुले तान्न सुरु गरेको रथ निरन्तर १३ घण्टासम्म तानेर माथिल्लो क्षेत्रको दत्तात्रयसम्म पुर्याइएको थियो । फर्काउँदा रथ बुधबार बिहान ३ बजे सुकुलढोकामा ल्याइपुर्याइएको थियो। 

मंगलबार राति नै रथलाई गःहिटी पुर्याएर पूजा गर्नुपर्नेमा सुकुलढोकामा नै छाडिएपछि आज पुनः रथलाई तानेर गःहिटी नजिक ल्याइएको गुठी कार्यालय भक्तपुरकी प्रमुख खिमा वलीले जानकारी दिए।
    
मंगलबार राति विगतका वर्षमा जस्तै तल्लो र माथिल्लो क्षेत्रका बासिन्दाले ढुंगा हानाहान गर्ने त्रास रहे पनि यस वर्ष शान्तिपूर्ण रुपमा पहिलो दिनको जात्रा सम्पन्न भएको थियो । तर, चलनअनुसार रथलाई आज दिउँसो ३ बजेसम्म पनि गःपिहटी पुर्याउन सकिएन।

रथ तान्ने क्रममा मुख्य तीन खामा भाँचिएर रथ बीचमै थन्किएको प्रमुख वलीले जानकारी दिए। उनले रथमा धेरै क्षति पुगेकाले मर्मत गर्ने कार्य जारी रहेको जानकारी दिए। रथलाई पूरै बनाउन अझै एक साता समय लाग्ने छ। 

रथ जसरी पनि गःहिटी पुर्याएर पूजा गर्ने तथा यही ३० चैतमा ल्यासिंखेलमा लिंगो उठाउनु अगाडि पुर्याउन पर्ने बाध्यता छ। त्यसैले रथ पूर्ण नभई आंशिकरुपमा सञ्चालनमा आउने गरी मर्मत गरिरहेको प्रमुख वलीले बताए। 
    
नियमानुसार ३० चैतमा भैरव र भद्रकालीको रथलाई गःहिटीबाट तानेर ल्यासिंखेल पुर्याएपछि मात्रै लिंगो उठाउने कार्य सुरु हुन्छ । आगामी वैशाख १ गते लिंगो ढालेपछि पुनः रथलाई ल्यासिंखेलबाट गःहिटी ल्याएर भैरव र भद्रकालीको रथ जुधाउने परम्परा छ । जात्रा सञ्चालनका क्रममा जथाभावी तान्दा रथ बिग्रिएर क्षति पुगेको र रथ तान्ने डोरीसमेत चोरी भएको प्रमुख वलीले जानकारी दिए । (रासस)

सुझावित समाचार