माग बढ्न नसकेपछि मूल्यवृद्धि दरमा संकुचन

शुक्रबार, २३ चैत, २०८०
डिजिटल संस्करण

आठ महिनामा वस्तु आयात २.७ प्रतिशतले घटेर १० खर्ब ३० अर्ब २२ करोडमा सीमित 

मूल्यवृद्धि दरमा निरन्तर संकुचन देखिन थालेको छ । आर्थिक गतिविधि चलायमान नहुँदा माग कमजोर बन्दै गएपछि मूल्य वृद्धिदर (मुद्रास्फीति)मा संकुचन देखापरेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार फागुनमा मुद्रास्फीति ४.८२ प्रतिशत छ । माघमा यस्तो दर ५.०१ प्रतिशत थियो । 

केन्द्रीय बैंकका अनुसार आठ महिनामा वस्तु आयात २.७ प्रतिशतले घटेको छ । यस अवधिमा १० खर्ब ३० अर्ब २२ करोडको वस्तु आयात भएको छ । गत आर्थिक वर्षको यही अवधिमा १० खर्ब ५८ अर्ब ३९ करोडको आयात भएको थियो । आयातमा आधारित उपभोग प्रणालीका कारण मागमा संकुचन आउँदा मूल्यवृद्धिमा प्रभाव देखिएको हो ।

नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले विश्वस्तरमै मुद्रास्फीति दर घट्दो क्रममा रहेकाले नेपालका लागि यो राहतको विषय भएको बताए । बिहीबार संघको पत्रकार सम्मेलनमा मुद्रास्फीति दर घट्दो क्रममा रहनुले आर्थिक स्थायित्वको पाटोमा सकारात्मक विषय भएको बताए । उनले भने, ‘अहिले संसारभर नै मुद्रास्फीति घट्दो क्रममा छ । यो राम्रो पाटो हो । नेपालमा पनि मुद्रास्फीति दर घटिरहेको छ । यसलाई सकारात्मक मान्नुपर्छ ।’

अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)द्वारा प्रकाशित वल्र्ड इकोनोमिक आउटलुक, २०२४ का अनुसार सन् २०२४ मा विश्वको मुद्रास्फीति ५.८० प्रतिशत पुग्ने अनुमान छ । त्यस्तै, ०२५ सम्म थप घटेर ४.४० प्रतिशतसम्म कायम रहने प्रक्षेपण छ । यद्यपि, कोषले आपूर्ति शृंखलामा अवरोध, लगानीमा सुस्तता, वातावरणीय चुनौती र घट्दो उपभोगलाई प्रमुख चुनौतीका रूपमा लिएको छ । नेपालको हकमा पनि घट्दो उपभोग र मागमा आएको संकुचनले चुनौती थपिरहेको देखिन्छ । 

केन्द्रीय बैंकका अनुसार चालू आर्थिक वर्षको आठ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.९४ प्रतिशत छ । गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत रहेको उल्लेख छ । त्यस्तै, खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक २८.१७ प्रतिशत, तरकारीको १४.०७ प्रतिशत, दाल तथा गेडागुडीको ११.२२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३५ प्रतिशत र दुग्ध पदार्थ तथा अन्डाको ७.११ प्रतिशतले बढेको छ भने घिउ तथा तेल उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक ११.७९ प्रतिशतले घटेको छ ।

भारतकै हाराहारी महँगीदर
चालू आर्थिक वर्षका मासिक रूपमा प्रकाशित मुद्रास्फीति दरलाई हेर्ने हो भने नेपाल र भारतबीच मुद्रास्फीति दरमा खासै अन्तर देखिएको छैन । नेपालमा आठ महिनाको औसत मुद्रास्फीति ६.०८ प्रतिशत कायम छ भने भारतमा सोही अवधिको औसत मुद्रास्फीति दर ५.४५ प्रतिशत छ । जसअनुसार औसत अन्तर हेर्ने हो भने ०.८१ प्रतिशत विन्दुले नेपालको मुद्रास्फीति छ ।  

शुक्रबार भारतमा मौद्रिक नीति, नेपाललाई के असर पार्छ ?
भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै छ । भारतले हालसम्म नीतिगत दर (रिपोदर)लाई ६.५ प्रतिशतमै कायम राखेको छ । अमेरिकाको केन्द्रीय बैंक फेडले ब्याजदरलाई स्थिर नै राखेको अवस्थामा भारतले पनि नीतिगत दरलाई निरन्तरता दिने भारतीय सञ्चारमाध्यमको विश्लेषण छ । 

भारतको ४ प्रतिशतको लक्ष्यभन्दा माथि नै मुद्रास्फीति दर रहेकाले भारतका बैंकहरूमा रहेको अधिक तरलतालाई व्यवस्थापन गर्न अन्य मौद्रिक औजारहरू परिचालन गरिने अनुमान त्यहाँका सञ्चारमाध्यमले गरेका छन् । 

भारतमा हुने ब्याजदर वृद्धि वा गिरावटले नेपालको पुँजीलाई प्रत्यक्ष असर पार्ने गरेको छ । भारतमा नेपालीका आफन्तमार्फत पैसाको कारोबार हुने भएकाले बढी ब्याज पाइने अवस्थामा नेपालीले भारतमा पैसा लैजाने जोखिम रहन्छ । त्यस्तै, नेपालको पुँजीलाई भारत पलायन हुनबाट रोक्न पनि ब्याजदर अन्तरले ठूलो असर पार्ने गरेको अर्थशास्त्री बताउँछन् । 

थुप्रिँदै बाह्य अर्थतन्त्र
देशमा आर्थिक गतिविधि चलायमान बन्न नसक्दा बाह्य क्षेत्रमा सूचकहरू धनात्मक देखिएका छन् । रेमिट्यान्समा उत्साहजनक ढंगले वृद्धि भइरहँदा पनि विकास निर्माणमा खर्च नहुने र बैंक तथा वित्तीय संस्थाको लगानीयोग्य पुँजी थुप्रिनुले अर्थतन्त्र शिथिल रहेको देखाएको छ । 

फागुनसम्म रेमिट्यान्स आप्रवाह २१ प्रतिशतले बढेर नौ खर्ब ६१ अर्ब २२ करोड पुगेको छ । गत आर्थिक वर्षको फागुनसम्म सात खर्ब ९४ अर्बको मात्रै रेमिट्यान्स भित्रिएको थियो । डलरमा रेमिट्यान्स बढेर सात अर्ब २४ करोड पुगेको केन्द्रीय बैंकले जनाएको छ ।

आठ महिनामा चालू खाता एक खर्ब ६६ अर्ब ८७ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ५५ अर्ब २८ करोडले घाटामा थियो । त्यस्तै, शोधनान्तर स्थिति तीन खर्ब २७ अर्ब ५५ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब ४२ अर्बले बचतमा थियो । लगानीका हिसाबले खुद प्रत्यक्ष वैदेशिक लगानी पाँच अर्ब ६३ करोडले बचतमा छ । गत आवको सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी एक अर्ब १७ करोडले धनात्मक थियो ।

गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोडबराबर कुल विदेशी विनिमय सञ्चिति थियो । फागुनसम्म यो २१.७ प्रतिशतले बढेर १८ खर्ब ७२ अर्ब ८२ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकामा फागुन मसान्तमा २०.८ प्रतिशतले वृद्धि भई १४ अर्ब १४ करोड पुगेको छ । आठ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.८ महिनाको वस्तु आयात र १२.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

सुझावित समाचार