९० सालको भूकम्पपछि हराएको ‘ग्वलः दे फल्चा’ पुनरुत्थान सुरु

आइतबार, १८ चैत, २०८०
डिजिटल संस्करण

१९९० सालको भूकम्पपछि हराएको जयबागेश्वरी नवाली टोलको ‘ग्वलः दे फल्चा’ खोजेर काठमाडौं महानगरपालिका–८ ले पुनरुत्थान सुरु गरेको छ । फल्चा पुनर्निर्माणका लागि वडाध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले शनिबार जगपूजा तथा शिलान्यास गरेका छन् ।

घरको भित्तामा फेला परेको शिलापत्र अध्ययन र करिब ०५० सालतिर तयार पारिएको विवरण पुस्तिकाको फोटो हेरेर फल्चा पुनरुत्थानको निर्णय भएको थियो । शिलापत्रमा फल्चा निर्माण नेपाल संवत् ८२० मा र पुनर्निर्माण ८७३ मा भएको उल्लेख छ । ‘यसअनुसार फल्चा करिब तीन सय २४ वर्ष पुरानो हो,’ संगतले भने, ‘स्थानीय पाका मानिसका अनुसार ९० सालको भूकम्पपछि फल्चा हराएको थियो ।’

पशुपति क्षेत्रलाई पहिले ग्वलः दे (ग्वल देश) भनिन्थ्यो । त्यही नामबाट फल्चाको नाम भएबाट यसको प्राचीनता बुझ्न सकिन्छ । फल्चा पुनरुत्थानका लागि वडाले करिब १५ लाख रुपैयाँ खर्च गर्नेछ । फल्चा १४ फिट लम्बाइ र साढे ६ फिट चौडाइको हुनेछ ।

सुझावित समाचार