भारतको राष्ट्रियस्तरका क्रिकेट खेलाडी सहभागी हुने दुई टोलीसहित भरतपुरमा इन्डो–नेपाली टी–२० च्याम्पियनसिप आजदेखि सुरु हुँदै छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला (नमुना मैदान)मा हुने यो प्रतियोगितामा भारतको तालतला कोलकाता र पिएसआर लखनउसहित नेपालका चार क्षेत्रीय टोलीले भाग लिनेछन् । नेपालबाट भरतपुर मेयर ११, बागमती, सुदूरपश्चिम र मधेश प्रदेश सहभागी छन् ।
चितवन जिल्ला क्रिकेट संघको आयोजनामा हुन लागेको प्रतियोगिता ३० चैतसम्म हुनेछ । टी–२० च्याम्पियनसिपमा १८ खेल हुनेछन् । प्रतियोगिताले भरतपुरमा कूटनीतिक सम्बन्ध र पर्यटन सम्भावना प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास संघले लिएको छ । संघका सचिव सुरज ज्ञावलीले भने, ‘हाम्रो उद्देश्य क्रिकेटरलाई प्लेटफर्म प्रदान गर्नु हो ।’
भिजिट भरतपुर– २०२४ चल्दै गर्दा खेलले स्पोर्टस् टुरिजम विकास पनि हुनेछ । संघका अध्यक्ष सुदीप पिया र मुख्य प्रायोजक वरुण वेभरेजेजका कन्ट्री म्यानेजर विशाल ठाकुरले च्याम्पियनसिप ट्रफी अनावरण गरेका छन् ।