२४औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि न्युरोड टिम (एनआरटी) र मोरङ फुटबल संघबीच आज प्रतिस्पर्धा हुँदै छ । एनआरटी दोस्रोपटक उपाधिनजिक पुगेको हो । मोरङले पहिलोपटक फाइनल स्थान सुरक्षित गरेको हो ।
एनआरटीले फाइनल स्थान बनाउने क्रममा त्रिभुवन आर्मी र साबिक उपविजेता काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई पराजित गरेको थियो । यस सिजन चारवटा फुटबल प्रतियोगितामा फाइनल खेलेको अनुभवलाई एनआरटीले मोरङसँगको खेलमा पस्कने योजना छ ।
एनआरटीका टिम म्यानेजर रामेश लामाले सिजनमा खेलेका चार फाइनलको अनुभव बुढासुब्बामा प्रयोग हुने बताए । ‘यस सिजनमा हामी फर्ममा छौँ, चार फाइनलको अनुभवले पक्कै काम गर्नेछ,’ लामाले भने । एनआरटीले इलाम गोल्डकप उपाधि जितेको थियो । केपी ओली कप र मकवानपुर गोल्डकपमा एनआरटी उपविजेता बनेको थियो । चारपटकको विजेता नेपाल पुलिस र आयोजक धरानलाई हराउँदै मोरङले पहिलोपटक फाइनल खेल्न लागेको हो ।
‘ए’ डिभिजन लिग खेलिसकेका अनुभवी खेलाडी समावेश गरेको मोरङले एनआरटीलाई कडा प्रतिस्पर्धीका रूपमा रहेको जनाएको छ । मोरङका प्रशिक्षक रानु मगरले एनआरटी बलियो टोली भए पनि उच्च मनोबलका साथ आक्रामक फुटबल खेल्ने बताए । धरान रंगशालामा हुने फाइनल खेलका विजेताले १० लाख र उपविजेताले पाँच लाख पाउनेछन् ।