राजदूत लोरेन्जोले सुरु गरिन् ‘कलाशाला’

शुक्रबार, २ चैत, २०८०
डिजिटल संस्करण

युरोपियन युनियन (इयू)की राजदूत भेरोनिक लोरेन्जोको उपस्थितिमा अन्तर्राष्ट्रिय ‘कलाशाला’ कार्यशाला सुरु भएको छ। शुक्रबार काठमाडौंको एयरपोर्टस्थित ‘होटेल एयरपोर्ट’मा लोरेन्जोले कार्यशालाको उद्घाटन गरेकी हुन्।

कार्यशाला उद्घाटन र कला अवलोकन गर्दै उनले कलामार्फत नै फरक देश, फरक संस्कृति र फरक धारका मानिसबीच एकता सम्भव भएको बताइन्। ‘सांस्कृतिक विविधताबीच कलाले एकता ल्याउँछ,’ उनले भनिन्, ‘कलाकारहरूका लागि कलाको प्रदर्शन गर्ने यो महत्वपूर्ण अवसर पनि हो।’

कार्यशालामा सहभागी भारतका कलाकार प्रवीण कर्माकारले कार्यशालाले हाम्रो कला, संस्कृति र सांस्कृतिक सम्पदाको आदान–प्रदान गर्न सकिने बताए। 

चैत ५ सम्म जारी रहने ‘कलाशाला’ शीर्षकको कार्यशालामा नेपालसहित भारत, ताइवान, बंगलादेश, इरानलगायत देशका सयभन्दा बढी कलाकार सहभागी छन्। कलालाई वाटर, एक्रेलिक, प्रिन्ट, पेन एन्ड इन्क, पेन्सिल, डिजिटल आर्ट, मूर्तिकलालगायतका मध्यममा प्रस्तुत गरिएका छन् । 

३ गते बिहान ८ बजे कलाकारसँग पाटन दरबार क्षेत्रमा भ्रमणपछि दिउँसो १ बजे नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आर्ट ग्यालरीमा जाने आकार सेन्टरकी अध्यक्ष तथा कलाकार अनिता भट्टराईले बताइन्। उनका अनुसार ४ गते कलाकारहरूले पशुपतिनाथ दर्शन र भ्रमण गर्नेछन्। ‘होटेल एयरपोर्ट’मा कला प्रदर्शनी भने जारी नै रहनेछ। ४ गते नै समापन समारोहपछि ५ गते कलाकारहरूको बिदाइ हुने बताइएको छ।

कार्यशालामा सिर्जना भएका कलाकृति बिक्री गरेर आएको ५० प्रतिशत रकम ‘सफलता एचआइभी शिक्षा सदन’लाई प्रदान गरिनेछ।

सुझावित समाचार