पोखरामा गत साउनयता मोटरसाइकलको स्वरूप परिवर्तन (मोडिफाई) गरेर चलाउने सात सय ५० जना चालक कारबाहीमा परेका छन्।
आइतबार मात्र स्वरूप परिवर्तन गरिएका १२ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ। पछिल्लो समय त्यस्ता मोटरसाइकलचालकविरुद्ध प्रहरीले धमाधम कारबाही गर्न थालेको हो।
कार्यालय प्रमुख प्रहरी निरीक्षक भानु शर्माका अनुसार स्वरूप परिवर्तन गरिदिने वर्कसप सञ्चालकलाई समेत कारबाही गर्न सुरु गरिएको छ।
‘पोखराका विभिन्न ठाउँबाट पक्राउ परेका आठजना वर्कसप सञ्चालकलाई सम्झाइबुझाई गरी आगामी दिनमा मोटरसाइकलको स्वरूप परिवर्तन नगरिदिने प्रतिबद्धता गराएर छाडिएको छ,’ उनले भने, ‘मोटरसाइकल वर्कसप पनि हाम्रो निगरानीमा छन्।’
स्वरूप परिवर्तन गरिएका मोटरसाइकलले ध्वनि प्रदूषण र दुर्घटनाको जोखिम बढाएकाले प्रचलित कानुनअनुसार कारबाही गरिएको प्रहरी निरीक्षक शर्माले बताए।
पहिलोपटक नियन्त्रणमा लिइएकालाई मोटरसाइकललाई आफ्नै स्वरूपमा फर्काउन लगाई जरिवाना तिराएर छाड्ने गरिएको छ। पटक–पटक पक्राउ पर्नेलाई भने सवारी तथा यातायात व्यवस्था ऐनअनुसार कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाउने गरिएको प्रहरीले जनाएको छ।
स्वरूप परिर्वतन गरिएको दुईपांग्रे सवारीको कारबाहीबाट चालू आवमा रु. सात लाख ५० हजारभन्दा बढी जरिवाना रकम उठेको प्रहरी निरीक्षक शर्माले जानकारी दिए।
मोटरसाइकलमा अनावश्यक रंगरोगन गर्ने, लुकिङ ग्लास, सक, ह्यान्डल, इन्जिनलगायत परिवर्तन गर्ने, चर्को ध्वनि निकाल्ने पार्टपुर्जा जडान गर्ने चालकलाई नियन्त्रणमा लिने गरिएको उनको भनाइ छ।
पोखरामा ट्राफिक नियमलाई चुनौती दिँदै स्वरूप परिवर्तन गरेर मोटरसाइकल चलाउने बढेपछि त्यसविरुद्ध प्रहरीले सक्रियता बढाएको हो।