अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले जारी गरेको टी–२० खेलाडीहरूको वरीयतामा नेपाली क्रिकेटरले फड्को मारेका छन् । उनीहरूले विश्व क्रिकेटकै हस्तीलाई समेत वरीयतामा पछि पारेका छन् । धेरैपछि नेपाली क्रिकेटरको विधागत वरीयतामा सुधार आएको हो।
कप्तान रोहितकुमार पौडेल, अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, करण केसीले ठूलो छलाङ मारेका छन्। भारतका स्टार ब्याट्सम्यान शुभमन गिल, जिम्बावेका सिकन्दर राजा, इंग्ल्यान्डका मोइन अली, पाकिस्तानका मोहमद नबाजर र अस्ट्रेलियाका मिचेल मार्सजस्ता खेलाडी पनि आइसिसी वरीयतामा नेपाली खेलाडीभन्दा पछि परेका छन्।
अलराउन्डरमा दीपेन्द्रले सुधारे ४८ स्थान, २७औँ स्थानमा पुगे
अन्तर्राष्ट्रिय टी–२० अलराउन्डरतर्फ वरीयतामा दीपेन्द्रसिंहले एकैपटक ४८ स्थान सुधार गरेका छन् । उनी अहिले २७औँ स्थानमा रहेको आइसिसीले जनाएको छ । यसपटक उनले एक सय १२ रेटिङ पाएका छन् । पछिल्लो वरीयतामा उनी ७५औँ स्थानमा थिए । आइसिसीको टी–२० अलराउन्ड वरीयतामा कुनै समय दीपेन्द्रसिंह शीर्ष दशभित्र थिए । उनी लामो समयसम्म अलराउन्डर वरीयताको नवौँ स्थानमा रहेका थिए । ताजा टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंहले अफगानिस्तानका करिम जनतलाई एक स्थानले पछि पारेका छन ।
उनले टी–२० अलराउन्डरमा वेस्ट इन्डिजका एन्ड्रे रुसेल (३१), अफगानिस्तानका रासिद खान (३१) र इंग्ल्यान्डका साम करन (४५) जस्ता खेलाडीलाई पछि पारे । दीपेन्द्रसिंहले टी–२० ब्याटिङ वरीयतामा पनि सुधार गरेका छन् । यसपटक उनले ३१ स्थान सुधार गरे । उनी अहिले ७०औँ स्थानमा छन् । दीपेन्द्रसिंहले चार सय ४५ रेटिङ प्राप्त गरे । यसअघि उनी एक सय एक स्थानमा थिए । वरीयताको ७०औँ स्थानमा बंगलादेशका अफिफ हुसेन र नामिबियाका जेजे स्मिथ छन् ।
टी–२० ब्याटिङमा भारतका सूर्यकुमार यादव शीर्ष स्थानमा छन् । टी–२० ब्याटिङ वरीयताको २० स्थानसम्म परिवर्तन भएको छैन । बायाँहाते ब्याट्सम्यान कुशलले अलराउन्डरतर्फ २७ स्थान सुधार गरेका छन् । ९४ अंकका साथ उनी ३५औँ स्थानमा छन् । श्रीलंकाका धनञ्जय डी सिल्भा ९४ अंकका साथ ३५औँ स्थानमा छन् । उनले दुई स्थान गुमाएको आइसिसीले जनाएको छ । अलराउन्डर वरीयतामा बंगलादेशका सकिव अल हसन यथावत् रहेका छन् । उनले सर्वाधिक दुई सय ५० रेटिङ बटुले । आइसिसीको अलराउन्डर वरीयतामा शीर्ष नौ स्थानमा कुनै परिवर्तन छैन । आइसिसी टी–२० बलिङको शीर्ष सयभित्र कुनै पनि नेपाली खेलाडी अटाएका छैनन् ।
ब्याटिङमा रोहितले सुधारे ३६ स्थान,भारतका शुभमन गिल रोहितभन्दा धेरै पछाडि
मध्यक्रमका भरपर्दा ब्याट्सम्यान कप्तान रोहितले टी–२० ब्याटिङतर्फ ३६ स्थान सुधार गरे । चार सय ८६ अंकका साथ उनी ५४औँ स्थानमा पुगेका छन् । पछिल्लो वरीयतामा उनी ९०औँ स्थानमा थिए । यसपटक उनले त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजमा नेदरल्यान्ड्सविरुद्ध चार सय ८६ अंक बटुले ।
रोहितभन्दा एक स्थान अगाडि अस्ट्रेलियाका मार्कुस स्टोनिस रहेका छन् । स्टोनिसले एक स्थान गुमाउँदा ५३औँ स्थानमा रहे । रोहितभन्दा एक स्थान तल इंग्ल्यान्डका मोइन खान र भारतका इसान किसन छन् । मोइनले पनि एक स्थान गुमाए । टी–२० अलराउन्डरमा रोहितले ८८ स्थान सुधार गरे ।
३९ रेटिङ अंकका साथ उनी ९२औँ स्थानमा छन् । रोहितभन्दा पछाडि पाकिस्तानका इफितखर अहमेद (५९), भारतका शुभमन गिल (६५) र भारतकै लोकेश राहुल (६७) छन् ।नेपालका कुशल भुर्तेल ७७औँ स्थानमा छन् । उनीभन्दा अगाडि ओमानका आयन खान रहेका छन् । कुशलले युएईका आसिफ खानलाई एक स्थान पछाडि धकेलेका छन् ।
एकदिवसीय ब्याटिङमा आसिफ ७३औँ स्थानमा
आइसिसीको एकदिवसीय ब्याटिङमा नेपालका ओपनर आसिफ सेख ७३औँ स्थानमै यथावत् रहेका छन् । उनले चार सय ७८ रेटिङ अंक पाएका छन् । आसिफभन्दा एक स्थान अगाडि अफगानिस्तानका चर्तित ब्याट्सम्यान मोहमद नावी रहेका छन् ।
आसिफले आयरल्यान्डका क्रुटिस क्याफेरलाई एक स्थानले पछि पारे । नेपालका ओपनर तथा दायाँ हाते ब्याट्सम्यान कुशल भुर्तेलले ब्याटिङ वरीयतामा एक स्थान सुधार गरे । उनी ताजा वरीयताअनुसार ७७औँ स्थानमा छन् । उनले चार सय ७४ रेटिङ प्राप्त गरे । कप्तान रोहित ९५औँ स्थानमै यथावत् छन् । उनले नेदरल्यान्ड्का विक्रमजित सिंहलाई एक स्थानले पछाडि धकेले ।
यसैगरी, आइसिसीको एकदिवसीय अलराउन्डर वरीयतामा सयभित्र चार नेपाली खेलाडी अटाएका छन् । जसमध्ये दीपेन्द्रसिंहले मात्र एक स्थान सुधार गरेका छन् । अन्य खेलाडीहरूको स्थान परिवर्तन भएको छैन । दीपेन्द्रसिंह ताजा वरीयताअनुसार ४६औँ स्थानमा छन् । उनी यसअघि भन्दा अगाडि ४७औँ स्थानमा थिए । यसपटक उनले एक सय ५१ रेटिङ अंक पाए । यसैगरी, कुशल मल्ल ५१औँ, सोमपाल कामी ५५ र सन्दीप लामिछाने ७१औँ स्थानमा रहे ।
बलिङमा न्युजिल्यान्डका टिम साउथी र वेस्ट इन्डिजका जासन होल्डर ललितभन्दा पछाडि
ललित राजवंशीले एकदिवसीय बलिङ वरीयतामा आयरल्यान्डका क्रेज योङलाई एक स्थानले पछाडि राखेका छन् । ललित ५४औँ स्थानमा छन् । उनले चार सय ८५ अंक बटुलेका छन् । उनीभन्दा एक स्थान अगाडि वेस्ट इन्डिजका मोटिए छन् । टी–२० अलराउन्डरमा ठूलो छलाङ मारेका दीपेन्द्रसिंहले एकदिवसीय बलिङमा समेत एक स्थान सुधार गरे ।
उनी पछिल्लो वरीयताअनुसार ६३औँ स्थानमा छन् । उनीभन्दा एक स्थान अगाडि स्कटल्यान्डका साफयान सारिफ र एक स्थान तल पाकिस्तानका मोहमद नवाज रहेका छन् ।
एकदिवसीय बलिङ वरीयतामा सोमपाल कामी ८०औँ स्थानमै रहे । उनले पाकिस्तानका सदाव खानलाई एक स्थानले पछि पारे । न्युजिल्यान्डका टिम साउथी (८६) र वेस्ट इन्डिजका जासन होल्डर (९०) लाई पछि पारे । बलात्कार मुद्दामा दोषी ठहर भएका नेपालका पूर्वकप्तान सन्दीप लामिछानेले एकदिवसीय बलिङ वरीयतामा एक स्थान सुधार गरेका छन् । आइसिसीको वरीयतामा सन्दीप ४२औँ स्थानमा छन् । उनले पाँच सय दुई रेटिङ अंक पाए । सन्दीपभन्दा एक स्थान अगाडि बंगलादेशका मेहदी हसन रहेका छन् । सन्दीपभन्दा एक स्थान तल नामिबियाका रुवेन ट्रम्पलमेन छन् ।
टी–२० अलराउन्डरमा करण र गुल्सनको पनि छलाङ
नेपालले घरेलु भूमिमा खेलिएको त्रिकोणात्मक टी–२० सिरिज गुमाए पनि खेलाडीहरूको व्यक्तिगत प्रदर्शन अब्बल रह्यो । यसैकारण आइसिसीको ताजा वरीयतामा नेपालका खेलाडीले निकै राम्रो स्थान सुधार गर्न सफल भएका छन् । टी–२० अलराउन्डर वरीयतामा रोहित र दीपेन्द्रसिंहसँगै गुल्सन र करण केसीले पनि स्थान सुधार गरेका छन् । गुल्सनले एकैपटक २२ स्थान सुधार गरी ७२औँ स्थानमा रहे । उनले ४९ रेटिङ प्राप्त गरेका छन् । गुल्सनले अस्ट्रेलियाका चर्चित खेलाडी क्यामरोन ग्रिनलाई एक स्थानले पछाडि राखे ।
नेपालका मुख्य फास्ट बलर करण केसीले सय खेलाडीभित्र आफूलाई समावेश गरेका छन् । उनले यसपटक २४ स्थान सुधार गरेको आइसिसीले जनाएको छ । ताजा वरीयताअनुसार करण ८१औँ स्थानमा छन् । करणले टी–२० अलराउन्डर वरीयतामा भारतका पूर्वकप्तान विराट कोहलीलाई समेत पछि पारेका छन् । ताजा वरीयताअनुसार कोहली ८५औँ स्थानमा छन् । बंगलादेशका मेहदी हसन पनि करणभन्दा पछि नै छन् ।
करणले न्युजिल्यान्डका मार्क च्यापम्यानलाई एक स्थानले धकेलेका छन् । अलराउन्डरमा कप्तान रोहितले अस्वाभाविक रूपमा ८८ स्थान सुधार गरे । यसपटकको समग्र स्थान सुधार गर्ने क्रममा नेपाली खेलाडीमध्ये रोहित सबैभन्दा अगाडि रहे । उनी टी–२० अलराउन्डरको वरीयतामा अहिले ९२औँ स्थानमा रहे । उनले ३९ रेटिङ अंक प्राप्त गरेका छन् । रोहितभन्दा अगाडि दक्षिण अफ्रिकाका केशव महराज छन् ।
नेपाल एकदिवसीय र टी–२० मा यथावत्

पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय र टी–२० खेलमा राम्रो नतिजा निकाल्न सकेन् । आइसिसी विश्वकप लिग–२ मा नेपालले चारमध्ये एक खेलमा मात्र जित निकाल्यो । तीन खेलमा नेपालले हारको सामना गरेको थियो । तीन साताअघि त्रिवि क्रिकेट मैदानमा नेपालले नामिबिया र नेदरल्यान्ड्सविरुद्ध प्रतिस्पर्धा गरेको थियो । नेपालले पहिलो ब्याटिङ गर्दा ५० ओभर नै खेल्न सकेनन् । नामिबिया र नेदरल्यान्ड्सविरुद्धको टी–२० सिरिजमा नेपालले दुई खेलमा मात्र जित्यो । नेदरल्यान्ड्ससँग फाइनलमा नेपाल ६ विकेटले पराजित भयो । यद्यपि, आइसिसीको टी–२० र एकदिवसीय वरीयतामा नेपालको स्थान परिवर्तन भएको छैन । टी–२० वरीयतामा नेपाल १६औँ स्थानमा छ । नेपालले २९ अंक जोडेको छ । एकदिवसीय वरीयतामा नेपाल १५औँ स्थानमै छ ।
स्रोत : आइसिसी