चीनले परीक्षणका लागि विभिन्न ६ युरोपेली देशमा विनाभिसा भ्रमण गर्न सक्ने नीति अवलम्बन गरेको छ।
स्विट्जरल्यान्ड, आयरल्यान्ड, हंगेरी, अस्ट्रिया, बेल्जियम र लक्जमबर्गका लागि मार्च १४ देखि परीक्षणका लागि भिसा–मुक्त नीति अवलम्बन गरिने चिनियाँ विदेशमन्त्री वाङ यीले बिहीबार बताएका हुन्।
चीनको यो निर्णयसँगै थप देशहरूले चिनियाँ नागरिकलाई भिसा सुविधा प्रदान गर्ने तथा सीमापार यात्राका लागि द्रुतमार्ग सञ्जाल निर्माण गर्न र अन्तर्राष्ट्रिय यात्रु उडान पुनः सुचारु गर्न प्रोत्साहित गर्ने विषयमा आशावादी भएको उनले बताएका हुन्।
वाङले चीनको राष्ट्रिय व्यवस्थापिकाको १४औँ राष्ट्रिय जनकंग्रेसको दोस्रो सत्रको अवसरमा आयोजित पत्रकार सम्मेलनमा युरोपेली मुलुकसँग भिसा–फ्री नीति अवलम्बन सम्बन्धमा जानकारी गराए।
उनले यो प्रयासले चिनियाँ नागरिकहरूलाई विदेश यात्रा गर्न थप सुविधा उपलब्ध हुने जनाउँदै विदेशीहरूलाई चीनमा घरमा नै रहेकोजस्तो महसुस गराउने विश्वास व्यक्त गरे।
वाङले उच्च–मानक स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षरलाई बढावा दिन, स्वतन्त्र व्यापार क्षेत्रहरूको विश्वव्यापी सञ्जाल विस्तार गर्न र विश्वव्यापी औद्योगिक, आपूर्ति र तथ्यांक प्रणालीलाई स्थिर र निर्बाध राख्न सम्बन्धित अधिकारीहरूसँग सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
चिनियाँ अन्तर्राष्ट्रिय आयात-निर्यात र अन्तर्राष्ट्रिय व्यापार सेवालगायत अन्तर्राष्ट्रिय सहयोग मार्गहरू पूर्ण रूपमा विकास गर्न र बजार सिद्धान्तहरूमा आधारित, कानुनद्वारा शासित र अन्तर्राष्ट्रिय मापदण्डमा आधारित आफ्नो व्यापार वातावरणलाई अनुकूलन गर्ने चीनको तयारी रहेको उनले बताए।