झापा गोल्डकपको सेमिफाइनलमा एपिएफ

मंगलबार, २२ फागुन, २०८०
डिजिटल संस्करण

विभागीय टोली एपिएफले सोमबार बागमती युथ क्लबलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल स्थान सुरक्षित गरेको छ । एपिएफको जितमा गोलरक्षक एञ्जल श्रेष्ठ नायक बने । उनले पहिलो क्वार्टरफाइनलको टाइब्रेकरमा बागमतीका दुई पेनाल्टी रोकेका थिए । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा निर्धारित ९० मिनेटमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । त्यसपछि खेलको छिनोफानो टाइब्रेकरबाट भएको हो ।

टाइब्रेकरमा एपिएफका गोलरक्षक श्रेष्ठले बागमतीका निर्मल घिसिङ र अनिल मगरको प्रहार बचाउ गरेका थिए । बागमतीका अभि लामा, विमल घिसिङ र दिवस लिम्बूको प्रहारले टाइब्रेकरमा गोल गरे । एपिएफका फोडे फोफोना, श्याम मगर, कुलदीप कार्की र प्रदीप लामाले गोल गर्न सफल भए । गोलरक्षक एञ्जलले यसअघिको पहिलो खेलमा संकटाविरुद्धको खेलमा पनि टाइब्रेकर उत्कृष्ट प्रदर्शन गरी एपिएफलाई अन्तिम आठको स्थान पक्का पारेका थिए । बागमती सीधै बाई’ पाएर अन्तिम आठमा पुगेको हो । 

प्रतिस्पर्धाको पहिलो हाफमा बागमती एपिएफमाथि हाबी भएको थियो । दोस्रो हाफमा एपिएफले बागमतीलाई दबाबमा राख्यो । यद्यपि दुवै टोलीको फिनिसिङ लाइन कमजोर हुँदा स्कोर भएन । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा घटुवा भएको एपिएफ झापा गोल्डकपमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

खेलको अन्तिम इन्जुरी समयमा बागमतीका खेलाडीलाई फल गरेपछि दोहोरो पहेँलो कार्ड खाँदै एपिएफका डिफेन्डर दिपेश धिमाल मैदानबाट बाहिरिएका थिए ।  प्रतिस्पर्धात्मक पहिलो क्वार्टरफाइनलको १०औँ मिनेटमा पेनाल्टी एरियाबाट बागमतीका अनिल राना मगरको सशक्त प्रहार वारनजिक हुँदै बाहिरिएको थियो । खेलको २६औँ मिनेटमा बागमतीका सनम धिमालले डिबक्सबाट गरेको प्रहार एपिएफका गोलरक्षक एञ्जलले पञ्च गर्दै खतरा टारे । 

 रणनीतिअनुसार खेल भएन
सुमन श्रेष्ठ, प्रशिक्षक, एपिएफ

बागमतीविरुद्ध जसरी खेल्नुपर्ने थियो, खेलाडीले खेल्न सकेनन् । आज रणनीतिअनुसार प्रदर्शन भएन । झापा गोल्डकपजस्तो प्रतिष्ठित प्रतियोगितामा जर्सीमा टेपिङ गर्नुपर्ने अवस्था आएको छ । यो लज्जास्पद हो । 

 प्राप्त अवसरमा गोल भएन
सुनिल श्रेष्ठ, प्रशिक्षक, बागमती

हामीले एपिएफविरुद्ध राम्रो गोल अवसर सिर्जना गरेका थियौँ । तर, खेलाडीले प्राप्त अवसरमा गोल गर्न नसक्दा हारको सामना गर्नुपरेको हो । खेल रणनीतिअनुसार निर्धारित समयमा बागमतीले गोल निकाल्नुपर्ने थियो । 

सुझावित समाचार