मच्छिन्द्रलाई केपी ओली कप उपाधि

आइतबार, २० फागुन, २०८०
डिजिटल संस्करण

मच्छिन्द्र फुटबल क्लबले लगातार दोस्रोपटक केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनलमा न्युरोड टिम एनआरटीलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै मच्छिन्द्र च्याम्पियन भएको हो ।

पहिलो संस्करण मच्छिन्द्रले सातदोबाटो युथलाई हराउँदै उपाधि जितेको थियो । दुई सहिद स्मारक ए डिभिजन लिग टोलीबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक बनेको थियो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा समाप्त भएपछि खेल पेनाल्टी सुटआउटमा भएको थियो ।

अन्तिम पेनाल्टी लिएर आएका विवेक गुरुङको प्रहार बाहिरिएपछि मच्छिन्द्र च्याम्पियन बनेको थियो । फाइनल खेलमा १३ हजारमाथि समर्थक दशरथ रंगशालामा उपस्थित भएका थिए । मच्छिन्द्रलाई जिताउन सनिश श्रेष्ठ, दिवाकर चौधरी, स्टेफन समीर बिनोङ, क्रिस्टोफर चिजोबा र देवेन्द्र तामाङले पेनाल्टीमा गोल गरेका हुन् ।

एनआरटीका लागि सरोज तामाङ, सञ्जीव विष्ट, अभिषेक लिम्बू र मोहित गुरुङले गोल गरे । विजेता मच्छिन्द्रले ११ लाख र उपविजेता एनआरटीले पाँच लाख रुपैयाँ प्राप्त गरेका छन् । मच्छिन्द्रले सेमिफाइनलमा भारतको मानेभन्ज्याङ फुटबल क्लबमाथि ५–० र एनआरटीले सेमिफाइनलमा जावलाखेल युथ क्लबलाई ३–० ले पराजित गरेका थिए । 

सुझावित समाचार