सरकारले युवा समाजसेवी विक्रम घिमिरेलाई अमेरिकाको नर्थ क्यारोलिना राज्यका लागि पर्यटक प्रवर्द्धक नियुक्त गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घिमिरेलाई उक्त पदमा नियुक्त गरेको हो।
सरकारले नियुक्त गरेका पर्यटन प्रवर्द्धक पद पर्यटन दूतजस्तै सम्मानित पद हो। सरकारले गत वर्षदेखि पर्यटन दूत नियुक्त गर्न छोडेको छ। घिमिरेसँगै सरकारले विभिन्न देशका विभिन्न सहरहरूमा २९ जना पर्यटन प्रवर्द्धकहरू नियुक्त गरेको छ।
घिमिरेले एनआरएनए अमेरिकाका विभिन्न पदमा रहेर सामाजिक काम गरिसकेका छन्। उनी यसअघि नै नर्थ क्यारोलिनाका लागि पर्यटन दूत भएर काम गरिसकेका युवा व्यक्तित्व हुन्।
पर्यटन प्रवर्द्धनमा सक्रिय घिमिरेलाई यही ०८० फागुन १३ गते मन्त्रीस्तरीय निर्णयबाट नर्थ क्यारोलिनाको पर्यटन प्रवर्द्धकमा नियुक्त गरिएको हो।
पर्यटन मन्त्रालयले सदभावना दूत निर्देशिका २०७८ अनुसार पर्यटन गतिविधिमा संलग्न व्यक्तिलाई नियुक्ति दिने गर्छ।नवनियुक्त पर्यटन प्रवर्द्धक घिमिरेले पर्यटन प्रवर्द्धक पदमा नियुक्त भएकोमा सरकारप्रति आभार प्रकट गरेका छन्।