मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीमा पुगे उच्चपदस्थ व्यक्ति

शुक्रबार, १८ फागुन, २०८०
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलले फागुन ५ गते क्यानभासमा चित्र कोरेर उद्घाटन गरेको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ कार्यक्रम बिहीबार औपचारिक रूपमा सम्पन्न भएको छ। 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङले नेपाल कला परिषद्को सभागृह बबरमहल काठमाडौंमा आयोजना गरेको १३ दिने मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रम दैनिक पाँचको हाराहारीमा उपस्थित सर्वसाधारणदेखि उच्चपदस्थ व्यक्तिले प्रत्यक्ष अवलोकन गरेका छन्।

दिक्तेलको धार्मिक तथा ऐतिहासिक स्थल मझुवागढी, भवनगैरा, हाटडाँडा, शंखधर साख्वाचोक, शुभम् फाउन्डेसन र जालपा पुगेर ख्यातिप्राप्त चित्रकारले प्रत्यक्ष रूपमा उतारेका क्यानभास चित्रलाई प्रदर्शनीमा राखिएको थियो। 

दिक्तेलमा गत असोज १७ गतेदेखि २१ गतेसम्मा आयोजना गरिएको ‘चित्रकला कार्यशाला तथा प्रदर्शनी’मा सहभागी नेपालसहित अस्ट्रेलिया, बंगलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका चित्रकारसहित विभिन्न ५० देशका ख्यातिप्राप्त चित्रकारले क्यानभासमा उतारेका दुई सय १० वटा चित्रलाई संकलन गरेर प्रदर्शनीमा राखिएको आयोजकले जनाएको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत ख्यातिप्राप्त चित्रकारहरूले खोटाङको धार्मिक तथा पर्यटकीय स्थलहरू त्रिधार्मिकस्थल हलेसी, जन्तेढुंगा, भुलभुले दुधकुण्ड, मेरुङलगायतका ठाउँको क्यानभास चित्र उतारेका थिए। 

धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरूका साथै जिल्लाको भौतिक विकास तथा धर्म, संस्कार, संस्कृति र रहनसहनबारे चित्रकारले क्यानभासमा उतारेका चित्रलाई समेत प्रदर्शनीमा राखिएको हो।

‘दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रम आयोजना गरेर इतिहास निर्माण गरेको चित्रकार के.के. कर्माचार्यले बताएका छन्। प्रदर्शनीमा राखिएका क्यानभास चित्रहरू ऐतिहासिक छन्। यो नगरपालिकाको सम्पत्ति हो। यस्तो कार्यक्रम अहिलेसम्म कसैले गरेका छैनन्,’ नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका निवर्तमान कुलपतिसमेत रहेका उनले भने, ‘चित्रकला कलाहरूमध्येका एउटा अदभूत कला हो। यसलाई जसले जसरी अर्थ्याउन पनि सक्छन्। क्यानभास चित्रलाई युगौँयुगसम्म राख्न सकिन्छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विश्वका ख्यातिप्राप्त चित्रकारको चित्र संकलन गर्न सफल भएको छ। यो ऐतिहासिक कार्य हो। यसले नगरपालिकालाई विश्वभर परिचित गराएको छ।’

चित्रकार कर्माचार्यको अमूर्त क्यानभास चित्रहरूसमेत प्रदर्शनीमा राखिएको थियो। अमेरिकाकी चित्रकार एवं प्रोफेसर जोय वल्फ, लातभियाकी चित्रकार आन्दा पैकाने, नेपाली चित्रकारहरू रतनकुमार राई, विजय थापालगायत ५० देशका चित्रकारले क्यानभासमा उतारेर प्रदर्शनीमा राखिएका चित्रहरूलाई खोटाङमै बोलाएर जिल्लाका दशवटै स्थानीय तहका धार्मिक, ऐतिहासिक एवं पर्यटकीय स्थलहरु तथा धर्म, संस्कार, संस्कृति, परम्परा र रहनसहनलाई क्यानभासमा उतार्न लगाइएको थियो।

संसारभर छरिएर रहेका खोटाङे मनलाई एउटै थलोमा जोड्ने र चित्रकलाको माध्यमबाट खोटाङ र सिंगाे नेपाललाई विश्वमाझ परिचय गराउँदै पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिमा जोड्ने लक्ष्यका साथ धनु आर्ट स्टुडियोसँगको सहकार्यमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ कार्यक्रम आयोजना गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताए।

‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’लाई दिक्तेलमा आयोजना गरिएको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी’कै अर्को शृंखलाको रूपमा आयोजना गरिएको छ। प्रदर्शनमा राखिएका चित्रलाई पुनः दिक्तेलमा लगेर संग्रहालय बनाएर राख्ने योजना बनाइएको छ,’ उनले भने, ‘संसारभर छरिएर रहेका खोटाङे मनलाई एउटै थलोमा जोड्ने काम गरेको छ। चित्रकलाको माध्यमबाट खोटाङ र सिंगाे नेपाललाई विश्वमाझ परिचित गराउन सफल भएका छौँ।’

स्वदेश तथा विदेशबाट आएका ख्यातिप्राप्त चित्रकारले उतारेका क्यानभास चित्रमा समग्र खोटाङको तस्बिर झल्किएको प्रतिनिधिसभा सदस्य एवं कोशी प्रदेशका पूर्वमन्त्री रामकुमार राई ‘पासाङ’ले बताए। 

‘चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रमले नगरपालिकाको मात्र नभई समग्र खोटाङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा परिचित गराउँदै यहाँको संस्कृति, सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा टेवा पुगेको छ,’ उनले भने, ‘नेपालसहित १४ देशबाट आएका ख्यातिप्राप्त चित्रकारले समग्र खोटाङको चित्र कोरेका छन्। यसमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका सफल भएको छ।’

१३ दिनसम्म सञ्चालन गरिएको प्रदर्शनी कार्यक्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्री केपी ओली, शेरबहादुर देउवा, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, सभामुख देवराज घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका उच्चपदस्थ व्यक्ति तथा राजनीतिक दलका नेता सहभागी भएका थिए। 

प्रदर्शनी कार्यक्रममा सहभागी उच्चपदस्थ व्यक्तिहरूले मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रमले पर्यटन प्रवर्द्धनमा सघाउ पुगेको लिखित प्रतिक्रिया दिएका छन्। 

मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रमको औपचारिक समापन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार (फागुन १६ गते) गरेको नगर प्रमुख भट्टराईले जानकारी दिएका छन्।

चित्रकार तथा सहयोगी संस्थाहरूलाई सम्मानसमेत गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रमका माध्यमबाट अन्तर्राष्ट्रिय रूपमा एकता प्रवर्द्धन भएको बताए।

स्वदेश तथा विदेशका ख्यातिप्राप्त चित्रकारले जिल्लाका विभिन्न ठाउँमा बसेर क्यानभासमा उतारेका लाइभ क्यानभास चित्रलाई प्रदर्शनी कार्यक्रम सकिएपछि पुनः दिक्तेल लगेर संग्रहालयमा राख्ने तयारी गरिएको नगर उपप्रमुख विशन राईले बताए। 

‘स्वदेश तथा विदेशका ख्यातिप्राप्त चित्रकारले उतारेका चित्रहरू हाम्रो नगरपालिकाको सम्पत्ति हो। यी चित्रलाई नगरपालिकाको आम्दानीको आन्तरिक स्रोत बनाउने योजना छ,’ उनले भने, ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी कार्यक्रम प्रत्यक्ष फाइदा नदेखिए पनि हामीले एउटा इतिहास निर्माण गरेका छौँ। क्यानभासमा कोरिएका चित्र आगामी दिनमा यो नगरपालिकाको आम्दानीको आन्तरिक स्रोत बन्नेछ।’ 

धनु आर्ट स्टुडियो काठमाडौंसँगको सहकार्यमा आयोजित ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी’का क्रममा रु. १८ लाख खर्च भएको नगरपालिकाले जानकारी दिएको छ। काठमाडौंमा आयोजना गरिएको अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रममा भने कति खर्च भयो भन्ने विवरण नगरपालिकाले सार्वजनिक गरेको छैन। 

खर्चको विवरण तथा कार्यक्रमको उपलब्धिबारे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने योजना बनाइएको नगर प्रमुख भट्टराईले बताएका छन्। यद्यपि, नगरपालिकाको आयोजनामा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी’ कार्यक्रमलाई जिल्लाका कतिपय स्थानीय बासिन्दाले भने अनुत्पादक क्षेत्रमा खर्च गरेको भन्दै नगरपालिकाको आलोचना गरिरहेका छन्। 

सुझावित समाचार