महानगर कर्मचारीको आरोप– मेयरले कामविहीन बनाएर मानसिक हिंसा गरे

बिहिबार, १७ फागुन, २०८०
डिजिटल संस्करण

‘बस्ने कुर्सी–टेबलसमेत नदिई काम गर्नै दिएको छैन’

काठमाडौं महानगरमा कार्यरत एक कर्मचारीले मेयर बालेन्द्र (बालेन)साहले कामविहीन बनाएर मानसिक हिंसा गरेको आरोप लगाएकी छिन् । महानगरकी वरिष्ठ कानुन अधिकृत सस्मिता घिमिरेले लामो समयदेखि मेयर बालेनले जिम्मेवारीविहीन बनाएको र जिम्मेवारीविहीन बनाउनुको कारणसमेत जानकारी दिन नचाहेको आरोप लगाएकी छिन् ।

‘लामो समयदेखि मेयर बालेनले विनाकारण कार्य जिम्मेवारीविहीन बनाएका छन् । सो जान्ने बुझ्ने मौकासमेत दिइएको छैन । कार्यालय जाँदा बस्ने कुर्सी–टेबलसमेत नदिई कामै गर्न दिएको छैन । दरबन्दी नै नभएको ठाउँमा मलाई आफूभन्दा दुई तह जुनियरमातहतमा हाजिर गराएर राखिएको छ । यो मजस्तो क्यान्सरपीडित महिला कर्मचारीलाई दिने ठूलो मानसिक यातना हो । दिनभर काम नगरी भर्याङमा बस्न वा घरमा बस्न बाध्य पारिएको छ,’ उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘मेरो स्वास्थ्य संवेदनशीलतासमेतलाई ध्यान दिएर हतोत्साही नगराउन र कार्य जिम्मेवारी दिन बारम्बार प्रमुख प्रशासकीय अधिकृत, प्रशासन प्रमुख महेश काफ्ले, दीपक अधिकारी सर, प्रशासन महाशाखा प्रमुख सरिता राईज्यूसँग पटक–पटक अनुनय–विनय गर्दा अहिले कामै गर्न नदिने भन्ने जानकारी पाएँ ।’ उनले आफूमाथि महानगरले गरेको ज्यादतीविरुद्ध कानुनी रूपमा अघि बढ्नेसमेत लेखेकी छिन् । 

मेयर बालेनको सचिवालयका स्वकीय सचिव भूपदेव शाहले भने उनी ८ फागुनदेखि हाजिर नै नभएको बताएका छन् । उनले भने, ‘उहाँ काममा सक्रिय हो भने हामी काम गर्ने वातावरण दिन्छौ । दिएका पनि छौँ । मेयर सापले काम गर्नेलाई सधैँ ठाउँ दिनुभएको छ । उहाँलाई नदिने कुरै भएन । हामीले उहाँको विभागीय प्रमुखलाई यसबारेमा सोध्दा ८ फागुनदेखि नआएको भन्ने जानकारी पायौं ।’ उनी महानगरको कारबाहीमा परेका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलकी श्रीमती पनि हुन् ।

See More On

सुझावित समाचार