नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष ०८०/८१ को साउनयता विद्युत् वितरणतर्फका नौवटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याएको छ । प्राधिकरणले ग्रिड सबस्टेसनबाट वितरण सबस्टेसनसम्म विद्युत् पुर्याउन र वितरण सबस्टेसनबाट उपभोक्ताकोसम्म विद्युत् पुर्याउन ३३ तथा ११ किलोभोल्ट (केभी) र चार सय भोल्टका लाइनहरू निर्माण गरी सञ्चालनमा ल्याएको छ । साथै, वितरण ट्रान्सफर्म पनि जडान गरिएको छ ।
साउनबाट हालसम्म वितरणतर्फका ३३–११ केभीका नौवटा वितरण सबस्टेसन निर्माण गरेको छ । प्राधिकरणका अनुसार इलामको पश्चिम क्षेत्र र पाँचथरमा विद्युत् आपूर्तिका लागि ३३–११ केभीको चिसापानी सबस्टेसन बनाइएको छ । यसैगरी, मकवानपुरको बागमती तथा बकैया गाउँपालिकामा विद्युत् आपूर्तिका लागि क्षतिवन सबस्टेसन बनाइएको छ । म्याग्दीको मंगला, मालिका तथा धौलागिरि गाउँपालिकामा विद्युत् आपूर्तिका लागि दरबाङ सबस्टेसन र नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङटार गाउँपालिका क्षेत्रमा विद्युत् आपूर्तिका लागि बोझपोखरी सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।
नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनामार्फत सबस्टेसन निर्माण गरिएको हो । आयोजनाअन्तर्गत देशभरि २५ वटा नयाँ सबस्टेसनको निर्माण र १२ वटा सबस्टेसनको स्तरोन्नति गरिएको छ । २५ वटा सबस्टेसनमध्ये पाँचवटाको निर्माण अन्तिम चरणमा छ भने सबस्टेसनहरूको स्तरोन्नति सम्पन्न भइसकेको छ ।
विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजनामार्फत प्राप्त सहुलियतपूर्ण ऋणमा मकवानपुरको मनहरी, सिन्धुलीको दुधौली, दोलखाको नाम्दु ललितपुरको उनिचौरमा वितरणतर्फको ३३–११ केभी सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।
त्यस्तै, विश्व बैंककै सहुलियतपूर्ण ऋणमा रामेछापको बाम्तीमा वितरण सबस्टेसन निर्माण गरिएको छ । उक्त सबस्टेसनसम्म पुग्ने ३३ केभी प्रसारणलाइन र त्यहाँबाट विद्युत् आपूर्तिका लागि लाइन पनि निर्माण गरी सञ्चालनमा ल्याइएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपभोक्तालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् उपलब्ध गराउन देशभरि नै वितरणतर्फका लाइन र सबस्टेसन निर्माण अभियानकै रूपमा चलिरहेको बताए ।