२५ किलो चरेससहित कपिलवस्तुबाट पाँचजना पक्राउ

सोमबार, १४ फागुन, २०८०
डिजिटल संस्करण

कपिलवस्तु प्रहरीले लागुऔषध चरेससहित कृष्णनगर नाकाबाट पाँचजनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलीले २४ किलो पाँच सय ६० ग्राम चरेससहित पाँचजनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा तीन महिला र दुई पुरुष रहेका छन्। रुकुम पूर्वबाट कृष्णनगर हुँदै भारततर्फ जाँदै गरेको भन्ने गोप्य सूचनाको आधारमा कृष्णनगर बजार क्षेत्रमा चोकजाँचका क्रममा आइतबार साँझ उनीहरूलाई नियन्त्रणमा लिएको  प्रहरीले जनाएको छ।

खनियाबास– ५ धादिङका ५९ वर्षीय सेती तामाङको साथमा पाँच किलो पाँच सय ५५ ग्राम, सोही स्थानका ६६ वर्षीय रेगदोन तामाङको साथमा पाँच किलो ३६५ ग्राम, सोही स्थानका ५२ वर्षीय साङ जोङ तामाङको साथमा पाँच किलो ४८० ग्राम, सिद्धकुमाख– ४ सल्यानका ४० वर्षीय थलबहादुर रोकाको साथमा ४ किलो ६ सय १५ ग्राम र भुमे– २ रुकुम पूर्वका ३७ वर्षीय भावना बुढाको साथमा तीन किलो पाँच सय ४५ ग्राम चरेस फेला परेको बताइएको छ।

उनीहरूले कम्मरमा कपडाको पेटी बनाई बाँधेर लुकाइछिपाई खेको अवस्थामा प्रहरीले सो परिमाणमा लागुऔषध बरामद गरेको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा भावना बुढा मुख्य कारोबारी भएको खुलेको छ।

पक्राउ पर्ने धादिङकी सेती तामाङ लागुऔषधको पेसेवर भरिया रहेको प्रहरीको दाबी छ। उनी यसअघि धादिङ र कृष्णनगरबाट लागुऔषधसहित पक्राउ परेर मुद्दा खेपिसकेकी व्यक्ति हुन्। उनी धरौटीमा छुटेदेखि प्रहरीले निगरानी गरिरहेको थियो। नियन्त्रणमा लिइएका पाँचैजनाउपर थप अनुसन्धान भइरहेको  कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए।

सुझावित समाचार