नेकपा एमालेका सांसद योगेश भट्टराईले अर्बौँको घोटाला भएको टेरामक्स घटनामा मुछिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई पदमा बस्ने नैतिक अधिकार नभएको बताएका छन् ।
शुक्रबार संसदमा बोल्दै सांसद भट्टराईले तत्कालीन सञ्चारमन्त्री बस्नेत झन्डा हल्लाउँदै अख्तियारको कार्यालयमा बयान दिन जाने अनि पदमा पनि बसिरहने कस्तो नैतिकता हो ? भन्दै प्रश्न गरे । उनले छानबिन समितिलाई प्रभावित पार्ने गरी पदमा रहिरहनु एमालेका लागि स्वीकार्य नहुने भन्दै राजीनामा माग गरे ।
त्यस्तै, उनले बालकुमारी घटनामा प्रधानमन्त्रीले दुई युवाको मृत्यु नभएर हत्या भएको भनिसक्दा पनि गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्छ कि पर्दैन ? भनेर प्रश्न गरे । त्यस्तै, रामग्राम निजी कम्पनीलाई ९९ वर्षका लागि ठेक्का दिने पर्यटन मन्त्रीको निर्णय सही नभएको बताए ।
उनले मिटरब्याजपीडितलाई न्याय दिन सरकारले आनाकानी गरेको आरोप लगाए । अहिले मिटरब्याजीहरू गठबन्धननिकट भएकाले सरकारले कारबाही गर्न नसकेको आरोप लगाए ।