आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ : नामिबियामाथि नेदरल्यान्ड्सको सानदार जित

सोमबार, ७ फागुन, २०८०
डिजिटल संस्करण
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ : नामिबियामाथि नेदरल्यान्ड्सको सानदार जित

photo : ICC

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को तेस्रो खेलमा नेदरल्यान्ड्सले नामिबियामाथि सानदार जित हासिल गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा आज भएको खेलमा पहिले टस जितेर फिल्डिङ रोजेको नेदरल्यान्ड्सले नामिबियामाथि सात विकेटको फराकिलो जित हात पारेको हो । 

जितसँगै अंकतालिकामा नेदरल्यान्ड्सको पनि दुई अंक भएको छ । लिग– २ का तीन खेल सकिँदा नेपालसँगै नेदरल्यान्ड्स र नामिबिया समान दुई अंकमा छन् । नेटरनरेटमा माथि रहेकाले नेपाल तालिकाको शीर्ष स्थानमा छ । 

आफ्नो पहिलो खेलमा नामिबियाले नेपालमाथि जित हासिल गरेको थियो भने नेपालले आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्समाथि सानदार जित दर्ज गरेको थियो । तेस्रो खेलमा भने नेदरल्यान्ड्सले नामिबियालाई हरायो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबिया ३५.१ ओभरमै एक सय २३ रनको अवस्थामा अलआउट हुन पुग्यो । जवाफी ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले एक सय २४ रनको लक्ष्य केवल तीन विकेटको क्षतिमा २७.२ ओभरमै पूरा गर्यो । 

नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटले ८१ बल खेलेर आठ चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ५१ रन जोडे । अर्का ओपनर म्याक्स ओ’डाउडले २८ रनको योगदान दिए । 

खेलमा नायक भने स्पिनर आर्यन दत्त रहे । उनले जादुमयी बलिङका अगाडि नामिबिया घुँडा टेक्न बाध्य भयो । नौ ओभर बलिङ गरेका आर्यनले ३४ रन दिएर ६ विकेट लिए । यो एक दिवसीय क्रिकेटमा नेदरल्यान्ड्सका कुनै पनि खेलाडी गरेको सर्वोत्कृष्ट बलिङ प्रदर्शन हो । 

नामिबियालाई सस्तैमा अलआउट गर्न काइल क्लाइनले पनि दुई विकेट लिएर मद्यत गरे । रुलफ भ्यान डर मर्वा र म्याक्स ओ’डाउडको नाममा समान एक–एक विकेट रह्यो । 

नामिबियाका लागि जेजे स्मिटलले सर्वाधिक २६ रन बनाएका थिए । त्यसपछिको सर्वाधिक ठूलो स्कोर २० रनको थियो । त्यो पनि तल्लो क्रममा ब्याटिङ गरेका रुबेन ट्रम्पलम्यानको । अन्य ब्याटर टिक्न नसक्दा नामिबिया निरीह बन्न पुग्यो । 

लिग– २ मा अब बुधबार नेपालले नामिबियासँग भिड्नेछ भने शुक्रबार पुनः नेदरल्यान्ड्स र नामिबिया आमने–सामने हुनेछन् । त्यसपछिको सोमबार पहिलो चरणको अन्तिम खेलमा नेपालले पुनः नेदरल्यान्ड्सको सामना गर्नेछ ।

लिग– २ को दोस्रो चरणका खेल युएई, क्यानडा र स्कटल्यान्डबीच युएईमा २८ फेब्रुअरीदेखि प्रारम्भ हुनेछ । 

सुझावित समाचार