पपुवा न्युगिनीको जातीय भिडन्तमा ६४ जनाको मृत्यु

सोमबार, ७ फागुन, २०८०
डिजिटल संस्करण

पपुवा न्युगिनीको उच्च पहाडी क्षेत्रमा भएको जातीय द्वन्द्वमा परी कम्तीमा ६४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन्।

पपुवा न्युगिनीको स्थानीय पत्रिका पोस्ट कुरियरका अनुसार एंगा प्रान्तको वापेनामान्डाको प्रहरीले आइतबार बिहानदेखि सुरु भएको भिडन्तपछि सडक किनार, घाँसेमैदान र पहाडबाट ६४ जनाको शव फेला परेको पुष्टि गरेको छ।

सुरक्षाकर्मीले झाडीमा अझै केही शव रहेको आशंका गरेका छन्। यसअघि अस्ट्रेलियाली समाचार संस्था एबिसी न्युजले आदिवासी समुदायबीचको भिडन्तमा कम्तीमा ५३ जनाको मृत्यु भएको र झाडीमा अझै धेरै मानिसको मृत शरीर रहेको हुन सक्ने बताएको थियो।

रोयल पपुवा न्युगिनी कान्स्टेबुलरीका कार्यवाहक सुपरिटेन्डेन्ट जर्ज काकासले भने, ‘मैले एंगामा देखेको यो अहिलेसम्मकै सबैभन्दा ठूलो सामूहिक हिंसा हो ।’

एबिसी न्युजका अनुसार सन् २०२३ मा ६० जनाभन्दा बढीको ज्यान लिने आदिवासी समुदायको लडाइँ यही जनजातिसँग सम्बन्धित रहेको बताइएकाे छ। बढ्दो जनजातीय द्वन्द्व नियन्त्रणका लागि एंगा प्रान्तमा सन् २०२२ मा केही महिनाका लागि लकडाउन गरिएको थियो।
 

सुझावित समाचार