ऋण तिर्नुपर्दैन भन्दै भ्रम फैलाउनेलाई कारबाही गर्ने अर्थमन्त्रीको चेतावनी

चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन काठमाडौंमा सुरु

आइतबार, ६ फागुन, २०८०
डिजिटल संस्करण

अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋण तिर्नुपर्दैन भनेर भ्रम फैलाउनेलाई कारबाही गर्ने चेतावनी दिएका छन् । उनले पछिल्लो समय ऋण नतिर्न उक्साउने भयावह प्रवृत्ति देखिएको भन्दै त्यसप्रति सरकार चुप लागेर नबस्ने बताएका हुन् ।

शनिबारदेखि काठमाडौंमा सुरु भएको चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री महतले बचतकर्ताको बचतबाट लगेको ऋण कदापि मिनाहा नहुने बताए । ऋण तिर्नुपर्दैन भन्ने भ्रममा नबस्न आमऋणीलाई अर्थमन्त्रीले आग्रहसमेत गरे । ‘लिएको ऋण तिर्नुपर्दैन, हामी माफी गर्दिन्छौँ भन्दै आशा जगाएर स्वार्थ समूह खेल्न खोज्दै छ । 

बचतकर्ताको बचतबाट लगेको ऋण कदापि मिनाहा हुँदैन,’ उनले भने, ‘बरु, सरकारले विभिन्न सहजीकरण गर्छ, तर ऋण त तिर्नैपर्छ ।’ ऋण नतिर्न भ्रम फैलाउनेलाई राज्यले सहन नसक्ने अर्थमन्त्रीले चेतावनी दिए ।

‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारासहित सुरु भएको सम्मेलनमा बोल्दै अर्थमन्त्रीले लघुवित्तकै कारण नेपालका दूरदराजका नागरिक वित्तीय पहुँचमा पुग्न सफल भएको बताए । नेपालका विपन्न वर्ग, गरिब र महिलामा लघुवित्त क्षेत्रले ठूलो उत्साह भरेको उल्लेख गर्दै डा. महतले जीविकोपार्जनमा समेत महत्वपूर्ण भूमिका खेलेको बताए । ‘अहिले लघुवित्तमा केही समस्या देखिएको छ, यसलाई कसरी स्वस्थ बनाउने भन्ने सबैको चिन्ताको विषय हो,’ उनले भने, ‘केही समस्यालाई देखाएर स्वार्थ समूहले खेल्ने प्रयास गरेको देखिएको छ, यस्तो राम्रो क्षेत्रलाई राजनीतीकरण गर्न खोज्नेहरूलाई कदापि सफल हुन दिनेछैनौँ ।’ सरकारको साथमा लघुवित्तकै सदस्य र बचतकर्ता मिलेर गलत प्रवृत्तिलाई हराउनुपर्ने उनले बताए ।

लघुवित्तले अब आफ्नै उद्देश्यअनुसार मात्रै काम गरेर आफूलाई सुधार गर्नुपर्ने अर्थमन्त्रीको सुझाव थियो । लघुवित्तलाई नाफा कमाउने औजारका रूपमा नलिएर ग्रामीण विकास, लघु उद्यम र स्वरोजगारलाई केन्द्रमा राखेर काम गर्नुपर्ने पनि उनको आग्रह छ । 

लघुवित्त आफैँले समस्या समाधान गर्नुपर्छ : कार्यवाहक गभर्नर
उक्त अवसरमा नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले २१ प्रतिशत जनसंख्या औपचारिक वित्तीय पहुँचमा नरहेको अवस्थामा लघुवित्तले खेलेको भूमिका प्रशंसनीय भएको बताइन् । आर्थिक असमानता हटाउन, विपन्नलाई सम्पन्न बनाउन, गरिबी निवारण गर्न, स्थानीय विकासलगायतमा लघुवित्तले खेलेको भूमिका निकै महत्वपूर्ण रहेको उनले बताइन् । धेरै विषय सकारात्मक हुँदाहुँदै पनि लघुवित्तमा समस्या देखिन थालेकाले आफैँ सुध्रिनुपर्ने उनको सुझाव छ । 

‘बाटो बिराएकाहरू सही ठाउँमा आउनुपर्छ’
कार्यक्रममा आयोजक समितिका अध्यक्ष शंकरमान श्रेष्ठले गरिब र विपन्न परिवारलाई नै लक्षित गरेर लघुवित्तको सुरुवात भएकाले बाटो बिराएकाहरू सही बाटोमा आउनु अहिलेको आवश्यकता रहेको बताए । लघुवित्तमा पछिल्लो समय समस्या आउनुमा सहकारी संस्थाकै कमजोरी रहेको उनको भनाइ थियो । ‘लघुवित्त संस्थालाई कम्पनी ऐनअनुसार चलाउन थालियो, सेयरधनीले बढी नाफामा लैजाने खालका क्रियाकलाप गरे, लघुवित्त त धेरै नाफा पाउने थलो रहेछ भनेर लगानी गर्नेहरूको बाढी आयो, लघुवित्तका सदस्यलाई सेयरहोल्डर बनाएनौँ,’ श्रेष्ठले भने, ‘ऋण प्रवाह गर्दा पनि लापरबाही भयो, सरकारले नयाँ लाइसेन्स खुलायो, झन् विकृति र विचलन आयो । अस्वस्थ प्रतिस्पर्धा भयो । बढी लगानी गर्न लगानीकर्तालाई तानातान गर्ने र ब्याजमा मनोमानी गर्ने विकृति देखिए ।’

लघुवित्तलाई सरकारले उपेक्षा गरेको गुनासो
नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले लघुवित्तको योगदानलाई अपेक्षा गरिएको बताए । झन्डै ६० लाखजना सदस्यमार्फत गाउँ–गाउँमा वित्तीय सचेतनासँगै लगानी र उद्यमलाई बढावा दिएको लघुवित्त क्षेत्रलाई सरकारले उपेक्षा गरेको भन्दै अध्यक्ष यादवले गुनासो गरे । यस्तै, लघुवित्त अभियन्ता तथा प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले सरकारले लघुवित्त सुधारका लागि विभिन्न नीति र भाषण गरे पनि व्यवहारमा लागू नभएको बताए । उनले लघुवित्तलाई देखाएर राजनीति गर्ने क्रम बढेको भन्दै असन्तुष्टि जनाए । 
 

सुझावित समाचार