माओवादी विधान अधिवेशनमा थरीथरी सुझाव

बिहिबार, ३ फागुन, २०८०
डिजिटल संस्करण

विधान मस्यौदामाथि माओवादी विधान सम्मेलनमा १३ वटा समूहले सुझाव प्रस्तुत गरेका छन् । मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको मस्यौदामाथि बुधबार १३ समूहका नेताले सामूहिक छलफलको निष्कर्ष अधिवेशनमा प्रस्तुत गरेका हुन् । 

२० मध्ये सात समूहको निष्कर्ष बिहीबार प्रस्तुत गरिनेछ । सबै समूहको सुझाव प्रस्तुत भएपछि बिहीबार अध्यक्षले जवाफ दिने केन्द्रीय सदस्य अजम्बर राई काङमाङले बताए । विधान पारित गर्दै अधिवेशन बिहीबार नै सकिनेछ । विधान मस्यौदामाथि २० समूह बनाएर छलफल भएको थियो । बुधबार अधिकांश समूहले नेतृत्व चयन प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत हुनुपर्ने, कमिटी सानो आकारको हुनुपर्नेलगायतका सुझाव दिएका छन् । 

केन्द्र, प्रदेश वा सबै कार्यकारी समिति प्रत्यक्ष निर्वाचित हुनुपर्ने सुझाव दिएका छौँ,’ केन्द्रीय सदस्यसमेत रहेका समूह १० का टोलीनेता युवराज चौलागाईंले भने ‘निर्वाचनविधि ठोस नभएकाले ठोस विधि हुनुपर्छ । व्यक्तिगत मत मात्र प्रयोग नगरी संस्थागत मतलगायत सूचक भोट प्रणाली बनाउनुपर्छ । प्रस्तावित विधानको प्रावधानले अझ भद्रगोल हुन सक्छ, त्यसलाई ख्याल गरेर विधान पारित गर्नुपर्छ ।’

केन्द्रदेखि तल्ला कमिटीका पदाधिकारीको कार्यकाल दुई कार्यकाल राख्नुपर्ने र केन्द्रीय सदस्यको कार्यकालको सीमा राख्नुहुन्न भन्ने सुझाव आएको छ । समानुपातिकतर्फ एकपटक मात्रै र प्रत्यक्ष निर्वाचनका लागि दुईपटक अवसर दिनुपर्ने सुझाव आएको छ । समानुपातिकमा वैवाहिक नभई जैविक नश्ललाई पनि ध्यान दिनुपर्ने सुझाव आएको छ । पार्टी र राजकीय नियुक्तिमा आलोपालो हुनुपर्ने सुझाव पनि दिएका छन् । प्रदेशलाई थप अधिकार दिनुपर्ने सुझाव पनि आएको छ । 

जिल्ला समन्वय समितिलाई कार्यकारी बनाउनुपर्ने सुझाव पनि आएको छ । संघीयताको मर्मलाई ध्यान दिँदै समन्वय समिति नै राख्नुपर्ने, तर अधिकार थप दिनुपर्ने सुझाव छ । सबै तहका समितिमा रहनेको सम्पत्ति सार्वजनिक गर्नुपर्ने, कार्यकर्ता तथा नेताको आर्थिक जीवन वैध र पारदर्शी हुनुपर्ने सुझाव आएको छ ।

निर्वाचन आयोग, अनुशासन आयोग र लेखा परीक्षण आयोगलाई पूर्ण रूपमा शक्तिशाली बनाउनुपर्ने र आयोगका समिति पालिकास्तरसम्म बनाउनुपर्ने सुझाव पनि आएको छ । आयोग केन्द्रमा ११ र प्रदेशमा सात, जिल्लामा पाँच र पालिकामा तीन बनाउनुपर्ने सुझाव छ । 

पार्टीको स्कुल विभागलाई स्रोत–साधनसम्पन्न बनाउनुपर्ने र सदस्यको आवधिक मूख्यांकन गर्ने व्यवस्था गर्नुपर्ने सुझाव आएको छ । फौजदारी अभियोग र भ्रष्टाचार भ्रमाणित भए सदस्यता खारेज हुने व्यवस्था गर्नुपर्ने सुझाव पनि आएको छ । राष्ट्रिय परिषद्लाई विधायिकी परिषद्मा रूपान्तरित गर्नुपर्ने सुझाव पनि आएको छ । पार्टीको नाम माओवादी नछाडी राख्ने पक्षमा थोरै र माओवादी त्याग्नुपर्नेमा अधिकांशले मत जाहेर गरेका छन् । पार्टी सदस्य एकखाले मात्रै बनाउनुपर्ने र संगठित र पार्टी सदस्य भनेर दुईखाले बनाउनुपर्ने भन्ने सुझाव पनि आएको छ । 

See More On

सुझावित समाचार