नेपालले आइसिसी विश्वकप लिग–२ को च्याम्पियन बन्दै आगामी चार वर्षमा एसोसिएट राष्ट्रको नम्बर एक टोली बन्ने योजना बनाएको छ । सन् २०२७ सम्म आयोजना हुने लिगको सुरु आजदेखि त्रिवि क्रिकेट मैदानमा हुनेछ । आयोजक नेपालले नामिबियासँग आफ्नो पहिलो खेल खेल्नेछ । नेपालले लिगको पहिलो शृंखलामा नामिबियासँगै एकदिवसीय विश्वकप खेलिसकेको नेदरल्यान्ड्सको आतिथ्य गर्नेछ ।
टेस्ट राष्ट्रपछि एसोसिएट टोली बलियो मानिन्छ । भौतिक पूर्वाधार मापदण्ड पूरा गरे टेस्ट राष्ट्र बन्ने सम्भावना बलियो रहन्छ । नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले आगामी चार वर्षमा एसोसिएटको नम्बर एक राष्ट्र बन्ने लक्ष्य रहेको बताए । ‘अब हाम्रो लक्ष्य एसोसिएटको नम्बर एक हो,’ पौडेलले भने, ‘पछिल्लो वर्षदेखि नेपालले राम्रो खेलिरहेको छ, यसलाई अझै राम्रो गर्न सके सन् २०२७ मा नम्बर एक हुन्छौँ ।’
नेपाल गत वर्ष लिग–२ मा तेस्रो भएको थियो । स्कटल्यान्ड च्याम्पियन र ओमान उपविजेता बनेका थिए । नेपालले अन्तिम १२ मध्ये ११ खेल जित्दै तेस्रो स्थान रक्षा गर्दै जिम्बावे र वेस्ट इन्डिजजस्ता बलियो टोलीसँग विश्वकप छनोट खेलेको थियो । भारतीय प्रशिक्षक मोन्टी देसाईंको प्रशिक्षणमा र २१ वर्षीय रोहितको कप्तानीमा नेपालको क्रिकेट निकै लयमा छ । एसिया कपमा विश्व क्रिकेटका महारथी भारत र पाकिस्तानविरुद्ध सानदार प्रदर्शन गरेको थियो ।
शीर्ष चार टोली सोझै विश्वकप छनोटमा
लिग–२ का शीर्ष चार टोली सीधै एकदिवसीय विश्वकपको छनोटमा पुग्ने आइसिसीले जनाएको छ । आइसिसीले आठ टोलीबीच हुने छनोटमा विश्वकप लिग दुईका शीर्ष चार टोली सोझै विश्वस्तरको छनोटमा पुग्ने बाटो तय गरेको हो । गत वर्ष शीर्ष तीन टोलीले यस्तो अवसर पाएका थिए । विश्वकप लिग–२ मा कुल २४ वटा त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला हुनेछन् । हरेक त्रिकोणात्मक शृंखलामा एउटा टोलीले प्रत्येकसँग समान दुई खेल खेल्नेछन् । आइसिसीका अनुसार विश्वकप लिग दुईमा कुल १४४ खेल हुनेछन् ।
विश्वकप छनोटमा लिग दुईका शीर्ष चार टोली, प्ले–अफबाट आउने चार टोली र एकदिवसीय वरीयताबाट छनोट नभएका टोलीले प्रतिस्पर्धा गर्नेछन् । आइसिसीका अनुसार विश्वकप छनोटबाट शीर्ष चार टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।
देव र अनिल टोलीमा समावेश

क्यानाडाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका ओपनर अनिलकुमार शाहसँगै यू–१९ टोलीका कप्तान देव खनालले लिग–२ खेल्ने अन्तिम १५ मा स्थान बनाएका छन् । अनिलले क्यानडाविरुद्ध दुई खेलमा एक शतक र एक अर्धशतक बनाएका थिए । देवले एक इनिङ्समा एक अर्धशतक जोडे । यसअघि यी दुवै खेलाडी लिग–२ को टोलीमा रिजर्भमा थिए । क्यानडाविरुद्ध बेन्च खेलाडीबाट उत्कृष्ट प्रदर्शन भएपछि क्यानले आइसिसीलाई देव र अनिललाई १५ भित्र समावेश गर्न आइसिसीलाई आग्रह गरेको थियो । टोलीका रोहित, अनिल र देवसँगै आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, करण केसी, ललितनारायण राजवंशी र सूर्य तामाङ छन् । युएईमा टी–१० लिग खेलिरहेका दीपेन्द्र पछिल्लो दुई खेल मात्रै खेल्न स्वदेश फर्किनेछन् । करण केसी र गुल्सन झाले क्यानडाविरुद्धको शृंखलामा विश्राम पाएका थिए ।
नेपाल ‘ए’ टोलीको प्रशिक्षकमा मल्ल, भण्डारी कप्तान

नेपाल क्रिकेट संघ (क्यान) ले पूर्र्वकप्तान ज्ञानेन्द्र मल्ललाई नेपाल ‘ए’ टोलीका प्रशिक्षकको जिम्मेवारी दिएको छ । क्यानले बुधबार मल्लसहित कलाम अलीलाई प्रशिक्षकमा नियुक्त गरेको हो । मल्लले गत महिना भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा एसपएफ क्लबको प्रशिक्षण सम्हालेका थिए । अली बागमतीका प्रशिक्षक हुन् । पिएम कपमा एपिएफ र बागमती शीर्ष चारमा समावेश छन् । क्यानले नेपाल ‘ए’ टोलीको कप्तानी जिम्मेवारी विनोद भण्डारीलाई दिएको छ । भण्डारीले पिएम कपमा दुई शतक बनाएका थिए । क्यानले यो टिममा पिएम कप, यू–१९ टोली र राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीलाई ‘ए’ टोलीमा समावेश गरेको छ । विनोदसहित पिएम कपमा शतक बनाएका आशुतोष घिरैया, रसिद खान, सन्दीप जोरा, मायन यादव र सुजन थपलिया छन् ।