क्यानले गर्‍यो ‘नेपाल ए टिम’ घोषणा, ज्ञानेन्द्र मल्ल र कलाम अलीलाई प्रशिक्षकको जिम्मेवारी

बुधबार, २ फागुन, २०८०
डिजिटल संस्करण

नेपाली क्रिकेटको राष्ट्रिय टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई नेपाल क्रिकेट संघ (क्यान)ले ‘नेपाल ए टिम’को प्रशिक्षकको जिम्मेवारी दिएको छ। क्यानले बुधबार मल्लसहित कलाम अलीलाई ए टिमको प्रशिक्षकमा नियुक्त गरिएको जनाएको हो।

मल्लले गत महिना भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबको प्रशिक्षण सम्हालेका थिए। अली बागमती प्रदेश टिमका प्रशिक्षक हुन्। 

क्यानले ‘नेपाल ए टिम’को प्रारम्भिक टोलीमा ३६ जना खेलाडीलाई राखेको छ। क्यानले यो टिममा पिएम कपमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई समावेश गरिएको जनाएको छ। 

दुई शतक प्रहार गरेका आर्मीका कप्तान विनोद भण्डारी पनि टोलीमा समावेश छन्। यसैगरी, शतक बनाएका आशुतोष घिरैया, रसिद खाना, सन्दीप जोरा, मायन यादव पनि समेटिएका छन्। 

नेपालको यू–१९ टोलीबाट खेलेका आकाश चन्द, दीपेश कँडेललगायतका खेलाडी टोलीमा स्थान बनाउन सफल भएका छन्। 

राष्ट्रिय टोलीबाट खेलिसकेका मौसम ढकाल, लोकेश बम, प्रतिश जिसी पनि टोलीमा स्थान बनाएका छन्।

सुझावित समाचार