नेपाल एसिसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा, क्वार्टरफाइनलमा कुवेत आठ विकेटले पराजित

बुधबार, २ फागुन, २०८०
डिजिटल संस्करण

कुवेतमाथि आठ विकेटको सानदार जित दर्ता गराउँदै नेपाली महिला टिम एसिसी वुमन्स प्रिमियर कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । 

पहिले ब्याटिङ गरेर कुवेतले दिएको लक्ष्य नेपालले दुई विकेटको क्षतिमा सात ओभरभित्र पूरा गर्‍याे । 

कुवेतले पहिले ब्याटिङ गरेर निर्धारित २० ओभरमा नाै विकेटको क्षतिमा ७३ रन बनाएपछि नेपालले ७४ रनको लक्ष्य पाएको थियो । तर, त्यसपछि केहीबेर वर्षाले खेल अवरुद्ध भएपछि खेललाई १२ ओभरमा घटाएर ५० रनको नयाँ लक्ष्य तय गरिएको थियो । 

सो लक्ष्य नेपालले ६.५ बलमा पूरा गर्‍याे ।  नेपालको लागि कप्तान इन्दु बर्माले २१ बलमा २२ रन तथा ओपनर सीता रानामगरले १५ बलमा १७ रनको योगदान दिइन् । यस्तै, 
नेपालले ओपनर कविता कुँवरलाई एक रनको अवस्थामा गुमाएको थियो । सीता आउट भएपछि आएकी कविता जोशी एक बलमा चार रन बनाउँदै अविजित रहिन् । नेपालले विजयी रन वाइडबाट पाएको थियो । 

त्यसअघि पहिले ब्याटिङ गरेको कुवेत सीताको ह्याट्रिक मद्दतमा ७३ रनको सामान्य योगफलमा रोकिएको थियो । अनुभवी अलराउन्डर सीता रानामगरले आफ्नो स्पेलको चौथो तथा अन्तिम ओभरमा लगातार तीन बलमा कुवेतका तीन खेलाडीलाई आउट गरेपछि कुवेत धराशायी बनेको हो । 

सीताले चार ओभर बलिङ गर्दा जम्मा ११ रन दिइन् । रुबिना क्षेत्री र कविता कुँवरले दुई–दुई विकेट लिए । समान चार ओभर बलिङ गरेकी रुबिनाले १० र कविताले नौ रन दिइन् ।

समूह चरणमा हङकङ, भुटान र माल्दिभ्समाथि जित निकाल्दै समूहको विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको हो । अब फाइनल प्रवेशका लागि नेपालले मलेसिया र जापानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

सुझावित समाचार