हङकङलाई आठ विकेटले हराउँदै नेपालको विजयी सुरुवात

शनिबार, २७ माघ, २०८०
डिजिटल संस्करण

हङकङलाई आठ विकेटले हराउँदै आइसिसी महिला प्रिमियर कप २०२४ मा नेपालले विजयी सुरुवात गरेको छ। मलेसियामा जारी प्रतियोगितामा सुरुवाती ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै नेपाललाई ९४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। 

प्रत्युत्तरमा नेपालले १४/१ ओभरमा दुई विकेट गुमाएर ९५ रन बनाएको हो। नेपालको इनिङ्समा कप्तान इन्दु बर्माले सर्वाधिक ४० रन बनाइन्। उनले ३३ बलमा तीन चौका र एक छक्का हिर्काइन्।ओपनर सीता रानामगर ३६ रनमा अविजित रहिन्। उनले ३८ बलमा एक चौका र एक छक्का प्रहार गरिन्। यसअघि ओपनर कविता कुँवर ४ रन बनाएर आउट भएपछि नेपाल दबाबमा आएको थियो।

दोस्रो विकेटको लागि कप्तान इन्दु र सीताबीच ५९ बलमा ७६ रनको बलियो साझेदारी भए पनि नेपाल सहज जिततर्फ बढेको थियो। यसअघि कप्तान इन्दु बर्माले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेकी थिइन्। सुरुवाती ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ९३ रन बनायो। 

हङकङको इनिङ्समा कप्तान चान का यिङ केरीले सर्वाधिक २१, मार्यम बिबीले १९, यम्सिन दास्वनीले १५, ओपनर नातसा मिलेसले ११ रनको योगदान गरे। नेपालको लागि पूजा महतो र पूर्वकप्तान रुबिना क्षेत्रीले समान दुई विकेट लिएका थिए। कविता जोशी र सीता रानामगरको नाममा समान एक विकेट रह्यो। 

प्रतियोगितामा नेपालसहित १६ टोलीको सहभागिता छ। चार समूहमा चार टोली रहेका छन्। नेपालको समूहमा माल्दिभ्स र भुटान छन्। नेपालले अर्को खेलमा भुटानसँग खेल्नेछ। प्रतियोगिताको फाइनल पुग्ने टोली एसिसी महिला एसिया कपमा छनोट हुनेछ।

सुझावित समाचार