हेटौँडाको गौरी रंगशालामा न्युरोड टिम (एनआरटी) र धनकुटाको राजारानी फुटबल क्लबबीचको बुधबारको प्रतिस्पर्धामा टाइब्रेकर र सडेन डेथमा गरी खेलाडीले ३८ पटक गोलका लागि प्रयास गरे । रोमाञ्चक तथा नाटकीय खेलमा एनआरटीले राजारानीलाई सडेन डेथमा १७–१६ ले स्तब्ध पार्दै छैटौेँ स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको छ । प्रतियोगिताको पहिलो सेमिफाइनलको निर्धारित र अतिरिक्त समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
त्यसपछि खेल टाइब्रेकरमा पुग्यो । टाइब्रकेरमा दुवै टोलीका पाँच–पाँच खेलाडीले गोल गरे । टाइब्रेकरसमेत बराबरी भएपछि खेलको नतिजा सडन डेथबाट भएको हो । सडनडेथमा दुवै टोलीका ११–११ जना खेलाडीले प्रहार गरे । जसमा समान १० खेलाडीले गोल गरेका थिए । यसमा पनि गोल संख्या बराबरी भएपछि दोहोर्याएर प्रहार भएको थियो । पहिलो सडन डेथमा राजारानीका पिटर सेगुनको प्रहारलाई एनआरटीका गोलरक्षक प्रिसोले बचाए ।
एनआरटीका नरेन्द्र चौधरीको प्रहार बारमा लागेर फर्किएको थियो । दोस्रोपटकको प्रहारमा राजारानीका प्रवेश दनुवारको प्रहार बाहिरिएको थियो । शिशिर लेखीको प्रहारलाई प्रिसोले रोकेका थिए । अन्तिममा मोहित गुरुङको प्रहार गोल भएसँगै एनआरटीले सडेन डेथमा जित निकाल्यो ।
टाइब्रेकरमा एनआरटीका प्रिसो, सरोज तामाङ, जय गुरुङ, विवेक गुरुङ र अभिषेक गुरुङले गोल गरेका थिए । राजारानीका लागि रूपेश केसी, विशाल घलान, उमेश कार्की, अशोक वास र दीप कार्कीले गोल गरे । एनआरटीले अब उपाधिका लागि बागमती युवा क्लब र एपिएफ क्लबको विजेताविरुद्ध प्रतिस्पर्धा गर्नेछ । प्रतिस्पर्धामा एनआरटीका र राजारानीका गोलरक्षकले उत्कृष्ट बचाउ गरेका थिए ।