अमरपुर–ढुंगेसाँघु १३२ केभी प्रसारणलाइन निर्माण सुरु

बुधबार, २४ माघ, २०८०
डिजिटल संस्करण

नेपाल विद्युत् प्राधिकरणले पाँचथरको हिलिहाङ गाउँपालिकास्थित अमरपुर सबस्टेसनदेखि ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुंगेसाँघु सबस्टेसनसम्मको अमरपुर–ढुंगेसाँघु एक सय ३२ केभी डबल सर्किट प्रसारणलाइन निर्माण सुरु गरेको छ । हिलिहाङ गाउँपालिका अध्यक्ष, वडाध्यक्ष, स्थानीय बासिन्दालगायतको उपस्थितिमा सोमबार अमरपुर–ढुंगेसाँघु एक सय ३२ केभी प्रसारणलाइनको टावर निर्माण शिलान्यास गरिएको छ । करिब १९ किलोमिटर प्रसारणलाइनमा ६७ वटा टावर निर्माण गर्नुपर्नेछ । उक्त प्रसारणलाइनबाट दुई सय मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ । 

झापाको लखनपुरदेखि (दमक सबस्टेसन) अमरपुर सबस्टेसनसम्मको काबेली करिडोर एक सय ३२ केभी प्रसारणलाइन र सुनसरीस्थित इनरुवा सबस्टेसनदेखि संखुवासभाको वसन्तपुर हुँदै ढुंगेसाँघुसम्मको कोशी करिडोर दुई सय २० केभी प्रसारणलाइनलाई एक–आपसमा आबद्ध गर्न यो प्रसारणलाइन बनाइँदै छ । कोशी करिडोरअन्तर्गत वसन्तपुर–इनरुवा खण्ड सञ्चालनमा आइसकेको छ । वसन्तपुर–ढुंगेसाँघु खण्ड निर्माण अन्तिम चरणमा छ । काबेली करिडोर सञ्चालनमा छ ।

काबेली नदी जलाधार क्षेत्रमा निर्माण भएका र हुने जलविद्युत् आयोजनाहरूको विद्युत्लाई विश्वसनीय तथा प्रभावकारी रूपमा प्रवाह गर्न अमरपुर–ढुंगेसाँघु एक सय ३२ केभी प्रसारणलाइन सुरु गरिएको आयोजना प्रमुख अनुप गौतमले बताए ।
आयोजना प्रमुख गौतमका अनुसार कोशी र काबेली करिडोर प्रसारणलाइन एक–आपसमा आबद्ध हुने भएकाले कुनै कारणले काबेली करिडोरमा समस्या आएमा उक्त लाइनमा जोडिएको विद्युत् कोशी करिडोरतर्फ पठाउन सकिन्छ । 

यसले गर्दा पूर्वी नेपालको राष्ट्रिय प्रसारण ग्रिडको विश्वसनीयता बढ्नुका साथै स्थानीय विद्युत् आपूर्ति पनि विश्वसनीय, गुणस्तरीय र सुदृढ बन्नेछ । तमोर नदी जलाधार क्षेत्रमा निर्माणाधीन र निर्माण हुने जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् ढुंगेसाँघु सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित हुनेछ । 

नेपाल सरकारको करिब एक अर्ब २० करोड रुपैयाँ लगानीमा आर्थिक वर्ष ०७५/७६ मा आयोजना सुरु गरिएको हो । प्रसारणलाइन निर्माणका लागि ०७९ मा ठेक्का सम्झौता भएको थियो । आयोजनाअन्तर्गत अमरपुर तथा ढुंगेसाँघु सबस्टेसनमा दुई–दुईवटा लाइन वे निर्माण गरिनेछ ।

 यसका अतिरिक्त स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि ढुंगेसाँघु सबस्टेसनमा ११ केभीको संरचना निर्माण गरिनेछ । लाइन वे र ११ केभीका संरचना बनाउन चालू आर्थिक वर्षमा ठेक्का लगाइनेछ । आयोजनाअन्तर्गतका सम्पूर्ण काम आर्थिक वर्ष ०८१/८२ मा सक्ने लक्ष्य राखिएको आयोजना प्रमुख गौतमले जानकारी दिए ।

सुझावित समाचार