निमा एकेडेमी, एडचेन्ज नेपाल र जियोजेब्रा नेटवर्क अफ नेपालको संयुक्त आयोजनामा काठमाडौंको ज्ञानेश्वरस्थित हन्व कम्प्लेक्स प्रांगणमा फागुन ३ र ४ गते जेन कन्फेरेन्स आयोजना हुने भएको छ।
यो सम्मेलन विद्यालयलाई २१औँ शताब्दीको प्रगतिशील नमुना विद्यालयको रूपमा कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुने आयोजकले जनाएका छन्।
सम्मेलनमा २१औँ शताब्दीका सीप तथा चुनौतीसम्बन्धी छलफल र वर्कसपका साथै शिक्षालाई युगसुहाउँदो बनाउन विभिन्न सोच तथा शैक्षिक आयाममाथि छलफल हुने बताइएको छ।
सम्मेलनमा चारवटा विधामा विषय विशेषज्ञबाट प्रस्तुति दिइने बताइएको छ। जसमा १३ वटा कार्यशाला र ३६ वटा कार्यपत्र प्रस्तुत हुनेछ।
कार्यक्रममा किनोट वक्ताको रूपमा थाइल्यान्डको महिडोल विश्वविद्यालयकी एलुमुनाई ओन्ग डी जिन, त्रिभुवन विश्वविद्यालयका एसोसिएट प्रोफेसर राजेन्द्र कुँवर र नेपाल खुला विश्वविद्यालयका एसोसिएट प्रोफेसर जीवन खड्का रहेका छन्।
सम्मेलनमा गणित, कम्प्युटर, विज्ञानलगायत सम्पूर्ण विषयशिक्षकलाई लक्षित हुने गरी वर्कसपको डिजाइन गरिएको आयोजकको दाबी छ। सम्मेलनमा शिक्षा क्षेत्रमा कार्यरत वा रुचि राख्ने जोकोही सहभागी हुन सक्नेछन्।