दुई दिनमा अनुसन्धान सकेर उद्योगपति चौधरीलाई हाजिर जमानी छाड्न आदेश

मंगलबार, २३ माघ, २०८०
डिजिटल संस्करण

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका उद्योगपति अरुण चौधरीसहित तीनजनालाई दुई दिनपछि हाजिर जमानीमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।

नेपालप्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले गत १८ माघमा अरुणसहित तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो ।

उनीहरूविरुद्ध अनुसन्धानका लागि पाँच दिनको म्याद माग्दै सिआइबी जिल्ला अदालत काठमाडौं पुगेको थियो । अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले थप अनुसन्धानका लागि दुई दिनको म्याद त थप गर्यो । त्यसपछिको अनुसन्धान भने हाजिर जमानीमा राखेर गर्न आदेश दियो । 

सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यले अरुणसहितका तीन अभियुक्तविरुद्ध अनुसन्धानका लागि दुई दिनको म्याद थप भएको र त्यसपछिको अनुसन्धान हाजिर जमानीमा राखेर गर्न आदेश भएको बताइन् ।

उनले भनिन्, ‘अरुणसहितको तीनजनालाई म्याद थप गर्न आज अदालत लगिएको थियो । उनीहरूविरुद्ध दुई दिनको म्याद थप भएको छ । त्यसपछिको अनुसन्धान भने हाजिर जमानीमा राखेर गर्न अदालतको आदेश छ ।’ सिआइबीले पक्राउ अभियुक्तविरुद्ध म्याद थप गर्न सोमबार अपराह्न अदालत लगेर गएको थियो । 

सुझावित समाचार