आगोलगायतले पोलेको अर्थात् ‘जलन’ कस्तो समस्या हो ?
सबैभन्दा पहिला जलनलाई स्वास्थ्य समस्याका रूपमा हेर्नु हुँदैन । जलन स्वास्थ्य समस्याभन्दा पनि दुर्घटना हो । यसको समाधानचाहिँ उपचार हो । समस्या भने स्वास्थ्यको होइन । बिरामीको उद्धार गर्ने सरकारका प्रहरीलगायत सुरक्षा वा अन्य संयन्त्र, ह्यान्डओभर अस्पतालमा । यसरी, दुइटा मन्त्रालयको चेपुवामा परेर यो समस्याको सही समाधान अहिलेसम्म गर्न नसकिएको हो । सम्बोधनका दृष्टिले समस्या यहाँनेर छ ।
पीडितले जलनको उपचारमा कस्ता कठिनाइ व्यहोर्नुपर्छ ?
कठिनाइ के भने सातै प्रदेशमा अस्पताल खोल्ने, ह्यानत्यान कुरा हुन्छ । तर, वास्तविक समस्यामा प्रवेश नै गरिँदैन । जलनको समस्या व्यहोर्ने ९५ प्रतिशत निम्नवर्गका हुने गर्छन्, त्यसमा पनि दुर्गम स्थानका । सचेतना एवं सुरक्षा प्रबन्धका कारण सहरी क्षेत्रमा जलनको समस्या निकै कम हुन्छ । यसकारण सचेतना र ‘उपचार खर्च’लाई मूल समस्याका रूपमा देखेको छु । यसर्थ, मैले सधैँ ‘जलन उपचार कोष’को कुरा गर्ने गर्छु ।
आयल निगम, ग्यास कम्पनीहरू र विद्युत् प्राधिकरणबाट सानो शुल्क लिएर जलन उपचार कोष खडा गरिदिने हो भने यो समस्या धेरै हदसम्म समाधान हुन्छ । नेपाल अधिराज्यभर जति पनि उपचार संस्था छन्, उनीहरू स्वयंले नै ‘जलन वार्ड’ खोल्छन् । यसको समाधान जलन उपचार कोष हो । यसबाट उपचारमा पहुँच खुल्छ । अहिले जलनका सबै बिरामी काठमाडाैं ल्याउनुपर्ने बाध्यता किन छ भने ‘जल्ने मान्छे गरिब हुन्छ, उसले पैसा तिर्न सक्दैन’ भनेर कसैले भर्ना नै लिँदैनन् । जनरल सर्जनले १० प्रतिशत जलेको बिरामी हेर्न नजानेको होइन, नचाहेको हो ।
जलनसम्बन्धी समस्याको न्यूनीकरणका उपाय के हुन सक्छन् ?
जलन दुर्घटनाजन्य समस्या भएकाले यसका लागि सचेतना कार्यक्रम हुनुपर्छ । दुर्भाग्य, नेपालमा यस्ता कार्यक्रम छैनन् । हामी ग्रामीण विद्युतीकरण गर्छाैं, तर विद्युत्ले जल्छ है भनेर सचेतना सिकाउँदैनाैँ । ग्यास पुर्याउँछौँ, तर जनचेतना पुरर्याउँदैनाैँ । यति धेरै ग्यास कम्पनी, पेट्रोल पम्प छन्, कसैले कहीँ जलनसम्बन्धी सचेतना कार्यक्रम चलाएको सुनिँदैन । यसमा उनीहरूको दायित्व हुनुपर्ने होइन र ? यो काम सामाजिक उत्तरदायित्वअन्तर्गत उनीहरूलाई लगाउनुपर्यो ।