आयोजक मकवानपुर टाइब्रेकरमा बागमतीसँग स्तब्ध

आइतबार, २१ माघ, २०८०
डिजिटल संस्करण

छैटौँ सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा आइतबार बागमती युवा क्लब सर्लाहीसँग आयोजक मकवानपुर– ११ टाइब्रेकरमा ४–२ ले स्तब्ध भएको छ । 

जितसँगै बागमती सेमिफाइनलमा पुगेको छ । बागमतीले स्टार खेलाडीले भरिएको मकवानपुरलाई निर्धारित समयमा २–२ को बराबरीमा रोकेको थियो । गौरीटार रंगशालामा भएको क्वार्टरफाइनलको टाइब्रेकरमा दोस्रो रोजाइका गोलरक्षक रौनक चौलाागाईंले उत्कृष्ट प्रदर्शन गरेपछि बागमती अन्तिम चारमा पुगेको हो । उनले राष्ट्रिय खेलाडी सुरजज्यू ठकुरीको प्रहार बचाएका थिए । 

टाइब्रेकरमा बागमतीका सिर्जन गौतम, आयुष रानामगर, निर्मल बल र अनिल मगरले गोल गरेका थिए । मकवानपुरका अञ्जन विष्ट र स्टेफन समिरले मात्र गोल गरे । मकवानपुरका अमित तामाङको प्रहार बाहिरिएको थियो । 

बागमतीले खेलमा दुईपटक अग्रता लिएको थियो । पहिलो हाफमा बागमतीका लागि अभि लामाले ४५औँ मिनेटमा १–० को अग्रता दिलाए । खेलको ८१औँ मिनेटमा अनिल रानामगरले बागमतीका लागि दोस्रो गोल गरे । मकवानपुरका लागि दुवै गोल विदेशी खेलाडी स्टेफन समिरले गरेका थिए । उनले खेलको ५५औँ मिनेटमा १–१ को गोल फर्काए । 

खेलको ८९औँ मिनेटमा उनले २–२ को बराबरी गोल फर्काए । बागमतीले सेमिफाइनलमा सशस्त्र प्रहरी र थ्री स्टारबीचको विजेतास“ग प्रतिस्पर्धा गर्नेछ । सर्लाहीका प्रशिक्षक सुनील श्रेष्ठले व्यक्तिगतभन्दा पनि टिम गेमका कारण जित सम्भव भएको बताए । 

मकवानपुरका प्रशिक्षक विजयलाल श्रेष्ठले मिडफिल्डर र डिफेन्डरबीच तालमेल नमिल्दा पराजित भएको जनाए । प्रतियोगिताअन्तर्गत सोमबार त्रिभुवन आर्मी र राजारानी क्लब धनकुटाबीच खेल हुनेछ । 

सुझावित समाचार