काभ्रेमा ११ जिल्लाका फुटबल रेफ्रीलाई तालिम

आइतबार, २१ माघ, २०८०
डिजिटल संस्करण

काभ्रेको धुलिखेलमा फुटबल खेलको रेफ्री प्रशिक्षण सुरु भएको छ। प्रदेश खेलकुद विकास परिषद्को विशेष सहयोग तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा बागमती प्रदेश फुटबल संघले आयोजना गरेका हुन्। एक साता चल्ने प्रशिक्षणको आइतबारबाट सुरु भएर शनिबार सम्पन्न हुनेछ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ सुरु भएको रेफ्री प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले बागमती प्रदेश सरकारले खेलकुदका विकासका लागि विशेष लगानी गरिरहेको बताए। बागमती प्रदेशले बृहत् राष्ट्रिय खेलकुदको आयोजना गर्न लागेको पनि उनले जानकारी दिए।

चितवनमा निर्माणाधीन क्रिकेट रंगशाला भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारले साझेदारीमा निर्माण सम्पन्न गर्ने भण्डारीले बताएका छन्। 

बागमती प्रदेशको तर्फबाट ७० प्रतिशत र महानगरपालिकाको तर्फबाट ३० प्रतिशत लगानी साझेदारीमा रंगशाला निर्माण गर्ने भएको सदस्यसचिव भण्डारीले जानकारी दिए। त्यसका लागि छिट्टै नै बोलपत्र आह्वान गरेर काम सुरु गर्ने तयारी भइरहेको उनले जानकारी दिए। 

सोही कार्यक्रममा अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले फुटबल रेफ्रीको उत्पादनमा जोड दिइरहेका छन्। उनले फुटबल खेलमा खेल्ने, खेलाउने र सिकाउने खेलमा महत्वपूर्ण कुरा भएको भन्दै सबैभन्दा खेल खेलाउने रेफ्री प्रशिक्षित हुनुपर्नेमा जोड दिए। 

खेल सबैभन्दा आर्थिक उपार्जन गर्ने खेल भनेको फुटबल खेल भएको महासचिव राईले दाबी गरेका छन्। राम्रो र अनुशासित खेलाडीले फुटबल खेलेरै राम्रो आम्दानी गर्न सकिने अवस्था आइसकेको उनको भनाइ छ। 

फुटबल खेलमा रेफ्री असुरक्षित हुने गरेको बताए। त्यस कारण रेफ्री फुटबल संघको समन्वयमा खेलाउन गएमा सुरक्षित हुने उनले बताए। उक्त कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानवीर लामाले फुटबल संघ र खेलकुद विकास समितिको समन्वय नभएको हो कि भन्ने भान भएको बताए।

फुटबल संघ र फुटबल संघको समन्वय भएमा खेलाडी उत्पादनमा सहयोग हुने उनले बताए। स्थानीय तह हुँदै जिल्ला, प्रदेश हुँदै संघमा समेत हुने राष्ट्रपति रनिङ सिल्डमा फुटबल खेल पनि समावेश गर्नुपर्नेमा उनले जोड दिए। 

बागमती प्रदेश फुटबल संघका अध्यक्ष निरोज श्रेष्ठको सभापतित्वमा भएको फुटबल रेफ्री प्रशिक्षण उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य अखिल नेपाल फुटबल संघ बागमती प्रदेशका उपाध्यक्ष  बाबुराजा श्रेष्ठ राखेका थिए।

प्रशिक्षणमा बागमती प्रदेशका ११ जिल्लाबाट सहभागी भएको आयोजकले जानकारी दिए। ती जिल्लाका ४० जना फुटबल रेफ्रीले तालिम प्राप्त गर्नेछ। 
 

See More On

सुझावित समाचार