भारतीय बलरसामु नेपाली ब्याटिङ ध्वस्त

शुक्रबार, १९ माघ, २०८०
डिजिटल संस्करण

आइसिसी यू– १९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्सअन्तर्गतको अन्तिम खेलमा भारतले दिएको दुई सय ९८ रनको लक्ष्य पछ्याइरहेको नेपाल संकटपूर्ण अवस्थामा पुगेको छ । 

२७ ओभरमा ७६ रन बनाउँदा नेपालले ६ विकेट गुमाइसकेको छ । पछिल्लो ४० बलभित्र नेपालले ६ विकेट गुमाएपछि नेपाली ब्याटिङ गहिरो संकटमा देखिएको छ । 

नेपालले ४८ रनको अवस्थामा पहिलो विकेट गुमाएको थियो । तर, त्यसपछि ६५ मा दोस्रो, ७१ मा तेस्रो, ७३ मा चौथो, ७४ मा पाँचौँ, ७६ रनको अवस्थामा छैटौँ र ७७ रनको अवस्थामा सातौँ विकेट गुमाइसकेको ।  

ओपनर दीपक बोहरा २२ तथा अर्का ओपनर अर्जुन कुमाल २६ रन बनाएर आउट भएसँगै नेपाली ब्याटिङ लाइनअप ध्वस्त हुन पुग्यो । उत्तम मगर आठ, विशालविक्रम केसी एक, दीपक डुम्रे शून्य, गुल्सन झा एक र दीपेश कँडेल शून्य रनमा आउट भए । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय ९७ रन बनाएको थियो । 

विशाल लक्ष्य खडा गर्ने क्रममा भारतका लागि सचिन दासले सर्वाधिक एक सय १६ रनको योगदान दिए । उनले एक सय एक बलमा ११ चौका र तीन छक्का प्रहार गरे ।  

कप्तान उदय सहरानले एक सय सात बलमा नौ चौकाको सहायताले एक सय रन बनाए । त्यसैगरी, आदर्श सिंहले २१ रन बनाउँदा प्रियान्सु मोलियाले १९ तथा अर्सिन कुलकर्नीले १८ रन बनाए । मुसहिर खानले अविजित नौ रन बनाए ।  

नेपालका लागि गुल्सन झाले तीन विकेट लिए भने आकाश चन्दले एक विकेट झारे ।

सुझावित समाचार