३ प्रश्न

मंगलबार, १६ माघ, २०८०
डिजिटल संस्करण

पूर्वराष्ट्रपतिलगायत पूर्वविशिष्ट पदाधिकारीले राज्यबाट लिइरहेको सुविधा कत्तिको जायज छ ? 
यो राज्यस्रोतको दोहन हो । यसबाट देशलाई थप आर्थिक भार पर्छ । जनतामाथि अन्याय हुन्छ । हाम्रोजस्तो गरिब देशका पूर्वपदाधिकारीले महँगा गाडी, घरभाडा र सुरक्षाकर्मीको दस्ता लिनु हुँदैन । यो राजश्वको गम्भीर दुरुपयोग हो । यसले विकासका कामलाई समेत प्रभावित पार्छ । पूर्वराष्ट्रपति मात्र होइन, पूर्वप्रधानन्यायाधीशहरूले पनि अवकाश हुने बेला महँगा गाडी किनेर लगेको सुनिन्छ । अन्य पूर्वपदाधिकारीले पनि मन्त्रिपरिषद्बाट पटके निर्णय गर्दैै सुविधा लिइरहेका छन् । यो चरम आर्थिक विसंगति हो । यसमा सुधार जरुरी छ । 

यस्तो सुविधालाई कसरी व्यवस्थित गर्न सकिएला ?  
यसको विकृति बजेट निर्माणबाटै सुरु हुन्छ । बजेटमा ठूलो रकम भइपरी आउने खर्चमा राखेर आफूअनुकूल निर्णय गरेर यसरी सुविधा दिने गरिएको छ । त्यसकारण बजेटबाटै यस्ता विकृतिमा सुधार गर्नुपर्छ । बजेटलाई सिद्धान्तअनुसार मात्र खर्च गर्नुपर्छ । आफ्नै हात जगन्नाथको नीतिले यस्तो विकृति बढेको हो ।  

प्रशस्त सम्पत्ति भएका पूर्वपदाधिकारीले यस्ता सुविधा लिन्नँ भन्नुपर्ने होइन ? 
पूर्वराष्ट्रपतिजस्ता व्यक्ति समाजमा ‘रोल मोडल’ बन्नुपर्ने हो । देशको अवस्था हेरेर पनि उहाँहरूले अनावश्यक सुविधा लिन्नँ भन्न सक्नुपर्ने हो । तर दुर्भाग्य, कसैले पनि त्यस्तो त्याग गर्न सकेको देखिएन । यसरी उच्च पदमा रहेकाहरूबाटै आर्थिक अनुशासनको उल्लंघन हुनु दुःखद हो । यस्तो प्रवृत्तिले देशमा थप गलत कामलाई प्रोत्साहन गर्न सक्छ । यसलाई तत्काल रोक्नुपर्छ । 

सुझावित समाचार