ताप्लेजुङ जिल्लाका नौ स्थानीय तहका ६१ वटै वडा दैवी प्रकोपको जोखिममा रहेका छन्। जिल्ला विपत् व्यवस्थापन समितिले जिल्लामा रहेका ६१ वटै वडाको भूभाग बाढीपहिरो, आगलागी, खडेरी र चट्याङको जोखिममा रहेको भनी वर्गीकरण गरेको छ।
विभिन्न तवरबाट जिल्ला नै दैवी प्रकोपको जोखिममा रहेको विपत् व्यवस्थापन समितिको निष्कर्ष छ। ताप्लेजुङ जिल्ला विपत् व्यवस्थापन समितिले चालू आर्थिक वर्ष ०८०/८१ का लागि बनाएको विपत् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार आगलागीका हिसाबले ४१ वटा वडा उच्च जोखिममा देखिएका छन्। बाढी तथा पहिरो र खडेरीका दृष्टिले ४० वटा वडा उच्च जोखिममा रहेका छन्।
चट्याङबाट भने जिल्लाभरमै उत्तिकै जोखिम रहेको बताइएको छ। आगलागीका दृष्टिले फुङलिङ नगरपालिकाका २ देखि ९ सम्मका वडा उच्च जोखिममा र बाँकी मध्यम जोखिममा रहेका पूर्वतयारी तथा प्रतिकार्य योजनामा उल्लेख छ।
यस्तै सिरिजंघा गाउँपालिकाको वडा नं १, सिदिङ्वा गाउँपालिकाको वडा नं. ४, फक्ताङ्लुङ गाउँपालिकाको १ देखि ६ नम्बरसम्मका वडा, मिक्वाखोला गाउँपालिकाको वडा नं. ४ बाहेक बाँकी चारवटा वडा र मेरिङदेन गाउँपालिकाको वडा नं. ४ बाहेक बाँकी पाँचवटा वडा उच्च जोखिममा छन्।
मैवाखोला गाउँपालिकाको ६ नम्बर वडाबाहेक बाँकी पाँचवटा वडा तथा आठराई त्रिवेणी गाउँपालिकाका सबै वडा तथा पाथिभरा याङ्वरक गाउँपालिकाका सबै वडा उच्च जोखिममा रहेका प्रतिकार्य योजनामा उल्लेख छ।
१२ वर्षमा आगलागीबाट पाँच अर्बभन्दा बढीको क्षति
ताप्लेजुङमा लामो समयसम्म वर्षा नहुँदा सदरमुकामदेखि ग्रामीण बस्तीसम्म आगलागीका जोखिम उत्तिकै धेरै हुने चिन्ता बढ्दै गएको छ। तथ्यांक हेर्दा ताप्लेजुङमा प्रत्येक वर्ष आगो लागेका घटनाहरू बढ्दै गएका छन्।
०६८ फागुन तेस्रो साता ताप्लेजुङको फक्तालुङ गाउँपालिका– ३ सिवा बजारमा लागलागी भएपछि बजार अहिलेसम्म पनि विस्तार हुन सकेको छैन। १२ वर्षअघि सीमा बजार मुख्य व्यापारिक केन्द्रको रूपमा रहेको बजारमा आगो लागिपछि अहिले बगर बनेको छ। बस्ती बन्न सकेको छैन।
०६९ माघ २६ गते सदरमुकामकै शेर्पा टोलमा आगलागी हुँदा आठ घर जलेर पूर्ण रूपमा नष्ट भएका थिए। १८ परिवार विस्थापित भएका थिए। ०७० साल कात्तिक १८ गते सदरमुकामकै टुक्रेबजार क्षेत्रमा आगलागी हुँदा पाँच घर नष्ट भई १७ परिवार विस्थापित भएका थिए।
यसैगरी, २०७१ चैत ९ गते फुङ्लिङको मुख्य व्यापारिक केन्द्र तोक्मेडाँडा क्षेत्रमा आगलागी हुँदा ३७ नष्ट हुँदा एक सय ४५ परिवार विस्थापित भए। ०७७ वैशाख १९ गते पुरानो बैंक लाइन ट्याक्सी काउन्टर क्षेत्रमा आगलागी हुँदा सात घर जलेर नष्ट भए भने २९ परिवार विस्थापित भए। सो आगलागीबाट मात्रै सात करोड ६५ लाख ७२ हजार रुपैयाँबराबरको क्षति भएको बताइएको छ।
जिल्ला विपत् व्यवस्थापन समिति तथा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार ०७२ सालदेखि ०८० साल माघ पहिलो सातासम्म ताप्लेजुङमा आगलागीका घटनाहरू रेकर्ड राखेको छ। गत वर्षको फागुनदेखि माघ १२ गते एक वर्षको अवधिमा मात्र ताप्लेजुङमा आगलागीका ३६ वटा घटनाबाट २३ करोड २२ लाख ७२ हजार पाँच सय रुपैयाँबराबरको क्षति भएको छ। एक वर्षको अवधिमा मानवीय क्षति नभएपनि करोडौँ मूल्यबराबरको सम्पत्ति नष्ट भएको छ।
१२ वर्षको समय अवधिमा ताप्लेजुङमा आगलागीबाट आठजनाले ज्यान गुमाएका, १२ जना घाइते भएका र एक सय ३९ वटा घर जलेर नष्ट भएका जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ। सो अवधिमा ताप्लेजुङमा आगलागीबाट कुल पाँच अर्ब आठ करोड ५१ लाख २९ हजार सात सय ३१ रुपैयाँबराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ। १२ वर्षमा तीन सय ८४ घरपरिवार आगलागीबाट प्रभावित भएका छन्।