राष्ट्रिय सभा निर्वाचन परिणामलाई कसरी हेर्नुभएको छ ?
हाम्रो राष्ट्रिय सभाको अहिलेको संरचना र निर्वाचन प्रणालीका कारण यसको नतिजामा आश्चर्य मान्नुपर्ने केही छैन । यसपटक पनि अनुमानभन्दा बाहिरको परिणाम आएको छैन भन्दा हुन्छ । कोसीमा एक सिट एमालेले हात पार्नुचाहिँ अनुमानबाहिरको विषय भयो । यसबाट गठबन्धनभित्र कसले कसलाई कति अन्तर्घात ग¥यो भन्ने प्रश्न उठ्न सक्छ । यद्यपि, यो त्यति ठूलो अन्तर्घात होइन । जितहारमा फरक पार्न सक्ने ‘क्याल्कुलेट’ गरेरै गरिएको अन्तर्घात हुन सक्छ यो । त्यसैले, यो अनपेक्षित परिणाम होइन ।
राष्ट्रिय सभा निर्वाचनले संविधानको मर्मलाई कति आत्मसात् गरेको देख्नुहुन्छ ?
राष्ट्रिय सभाको संवैधानिक व्यवस्था किन गरिएको हो भन्ने विषयमै बहस गर्नुपर्ने अवस्था आएको छ । अमेरिका, बेलायतलगायत देशका माथिल्लो सदनको विशिष्ट स्थान छ । तर, हामीकहाँ भने प्रतिनिधिसभाको निर्वाचनमा पराजित हरुवाहरूलाई थन्क्याउने स्थान बनेको छ राष्ट्रिय सभा । यो समावेशी पनि बन्न सकेको छैन । यसपटक पनि अधिकांश विजयी उम्मेदवार खस–आर्य समुदायकै छन् । यसले राष्ट्रिय सभाको औचित्यमाथि नै प्रश्न उठाएको छ । दलहरूले राष्ट्रिय सभालाई पनि प्रतिनिधिसभाजस्तै बनाउन खोजिरहेका छन् ।
राष्ट्रिय सभा राष्ट्रिय सभाजस्तो हुन सकेन भन्ने गुनासो कति जायज छ ?
यो गुनासो एकदमै जायज छ । राष्ट्रिय सभालाई विज्ञ र अल्पसंख्यकको सदन बनाउनुपर्ने हो । राउटे, माझी, मुसहर, चेपाङजस्ता अति पिछडिएका समुदाय र राष्ट्रिय जीवनमा उल्लेख्य योगदान दिएका व्यक्तित्वहरूबाट प्रतिनिधित्व गराउन सकेमा मात्र यसको विशेष अर्थ हुने थियो ।