अफगानिस्तानले दिएको एक सय ४६ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा एकपछि अर्को विकेट गुमेपछि संंकटमा परेको नेपाली ब्याटिङ इनिङलाई कप्तान देव खनालले एक इन्डबाट सम्हालिरहेका छन् ।
यसबीच खनालले व्यक्तिगत अर्धशतक पूरा गरेका छन् । ७५ बलको सामना गरेका खनालले सात चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।
३२ ओभरको खेल चलिरहँदा नेपालले ६ विकेट गुमाएर एक सय १५ रन बनाएको छ । कप्तान खनालसँगै क्रिजमा अहिले दीपक बोहरा छन् । बोहराले १८ बलमा १५ रन बनाइसकेका छन् ।
सामान्य लक्ष्य पछ्याए पनि सुरुदेखि नै विकेट गुमाएपछि नेपाल दबाबमा परेको हो । ४.२ ओभरमा टिमको रन ११ रन रहेका वेला नेपालले फर्ममा रहेका ओपनर अर्जुन कुमाललाई गुमाएको थियो । चार रन जोडेलगत्तै गुल्सन झा पनि आउट भए ।
नेपालले ८.१ ओभरमा २४ रनको अवस्थामा अर्का ओपनर विपिन रावललाई गुमायो । गुल्सन आउट भएपछि क्रिजमा आएका कप्तान खनालले आकाश त्रिपाठीसँग मिलेर ४९ रनको साझेदारी गरेपछि नेपाल खेलमा फर्कियो ।

२३.१ ओभरमा व्यक्तिगत १६ रनमा आकाश आउट भए । थप १३ रन जोड्दा २६.५ ओभरमा नेपालले पाँचौँ विकेटका रूपमा दीपक डुम्रेलाई गुमायो । डुम्रे पाँच रन बनाएर पेभेलियन फर्किए । लगत्तै चार रन बलमा चार रन बनाएर दीपक कँडेल पनि आउट भएपछि नेपाल सामान्य लक्ष्य पनि पूरा नगर्ने हो कि भन्ने अवस्थामा पुग्यो ।
तर, अर्को इन्डबाट कप्तान खनाल डटिरहेका छन् । उनलाई दीपक बोहराले राम्रो साथ दिएका छन् ।
आइसिसी यू– १९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको यो अन्तिम खेलमा जित निकाल्न सके मात्र नेपाल सुपर सिक्समा प्रवेश गर्नेछ ।
आज बलिङमा निकै सुदृढ देखिएको नेपालले अफगानिस्तानलाई ४०.१ ओभरमा एक सय ४५ रनमा अलआउट गरेपछि सुपर सिक्सको यात्रा तय गर्न सामान्य लक्ष्य पाएको हो ।