आकाश चन्दको घातक बलिङसामु घुँडा टेक्याे अफगानिस्तान, १४५ रनमै अलआउट

सुपर सिक्समा प्रवेश गर्न नेपालले पायाे एक सय ४६ रनकाे लक्ष्य

शुक्रबार, १२ माघ, २०८०
डिजिटल संस्करण

आइसिसी यू– १९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानबाट एक सय ४६ रनको सामान्य लक्ष्य पाएको छ । 

सुपर सिक्समा प्रवेशका लागि जित्नैपर्ने खेलमा नेपालले अफगानिस्तानलाई ४०.१ ओभरमा एक सय ४५ रनमा अलआउट गर्याे । टेस्ट मान्यताप्राप्त राष्ट्र अफगानिस्तानको युवा टिममाथि नेपाली युवा टिमका बलर पूर्णतः हाबी भएपछि नेपालले सामान्य लक्ष्य पाएको हो । 

तीव्र गतिका बलर आकाश चन्दले घातक बलिङ गर्दै पाँच विकेट लिए । आठ ओभर बलिङ गरेका आकाशले ३४ रन खर्चिए । त्यस्तै, दीपेश कँडेलले आठ ओभरमा १७ रन दिएर दुई, तिलक भण्डारीले आठ ओभरमा २८ रन दिएर एक विकेट लिए । 

यसैगरी, आठ ओभर नै बलिङ गरेका सुवास भण्डारीले १५ रन दिएर एक तथा गुल्सन झाले ४२ रन दिँदै एक विकेट लिए । नेपालले सुरुवातदेखि नै घातक बलिङ गरेपछि अफगानिस्तान कुनै पनि वेला खेलमा हाबी बन्न सकेन । 

पहिलो र दोस्रो रन बनाउँदा अफगानिस्तानले क्रमशः एक र दुई विकेट गुमाएको थियो । यस्तै, १७ रनमा तीन, २७ रनको अवस्थामा चार, ३४ रनको अवस्थामा पाँच तथा ४३ रनको अवस्थामा ६ विकेट गुमाइसकेको थियो । 

यसबीच अफगानिस्तानका असन इसाखिल र एएम घजनफारबीच ४२ रनको साझेदारीपछि अफगानिस्तान खेलमा फर्कने प्रयास गरिरहँदा पुनः धक्का लाग्यो । उसले ८५ रनको अवस्थामा सातौँ र ८८ रनको अवस्थामा आठौँ विकेट गुमायो । 

तर, एएमा घजनफार र कप्तान नासिर खानबीच ५५ रनको साझेदारीपछि अफगानिस्तान केही सम्हालियो । 

सुझावित समाचार