लुम्बिनीमा मोन्लम पूजा सुरु, उपाध्यक्ष डा. लामाले गरे उद्घाटन

शुक्रबार, १२ माघ, २०८०
डिजिटल संस्करण

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा धार्मिक गतिविधि प्रवर्द्धन गर्दै बौद्धमार्गीहरूलाई आमन्त्रण  गर्ने गरी बिहीबारदेखि प्राणीधान मोन्लम पूजा सुरु भएको छ । महायानाअन्तर्गत महागुरुको स्मृतिमा विश्वशान्तिको कामना गर्दै लुम्बिनीस्थित मायादेवी मन्दिरअगाडि पाँचदिने पूजा सुरु भएको हो । 

पूजाको लुम्बिनी विकास कोषका उपाध्यक्ष संविधानसभा सदस्य एवं खेन्पो छिमे डा. ल्हारक्याल लामाले शुभारम्भ गरेका छन् । उनले कोभिडपछि लुम्बिनीमा बौद्ध धार्मिक गतिविधि शून्यजस्तो भएको अवस्थामा आफू नेतृत्वमा आएपछि मोन्लम पूजालाई प्राथमिकता दिएको बताए । उनले यो वर्षमा मात्रै पाँचवटा मोन्लम पूजा गरिएको बताउँदै अर्को वर्ष यसलाई वृद्धि गरिने बताए । 

लुम्बिनी पुन्यभूमि भएकाले महायाना परम्पराका बौद्धिष्टहरू पूजा गर्न इच्छुक हुने भएकाले कोषका तर्फबाट वातावरण बनाउने काम भइरहेको छ । पूजामा विश्वशान्तिको कामना, प्रकृति, प्राणी जगतको भलोको कामना गरिने उनले बताए । 

महागुरु बुमटस्क फर वर्ल्ड पिसको आयोजनामा सुरु भएको मोन्लम पूजामा उपाध्यक्ष डा. लामासहित प्रख्यात रिपोन्छेहरू छोग्न्यी रिपोन्छे, टुंगाे कर्मा साङम्बो रिपोन्छे र खान्डो छिरिङमा रिपोन्छे सहभागी छन् । 

लुम्बिनी गुञ्जायमान

यसका साथै रिपोछेहरूसहित विभिन्न गुम्बाहरूका लामा, आनी  एकै ठाउँमा भेला भई मन्त्रोच्चारण र पाठ गर्दा लुम्बिनी गुञ्जायमान भएको छ । मायादेवी मन्दिरपरिसरमा आयोजित पूजाले लुम्बिनीको वातावरणमा एक प्रकारको आध्यात्मिक तरंग ल्याएको छ ।

मोल्नम पूजामा चिनियाँ चर्चित चलचित्रकर्मीसमेत रहेका हलिउड स्टार जेट्लीसमेत सहभागी छन् । उनी मोल्नम पूजा अवधिभर सहभागी हुनेछन् । भगवान् बुद्धका उपदेशहरू पाठ गर्दै बोद्धिसत्व र विश्वशान्तिको कामना गरी गरिएको पूजाको महायान परम्परामा निकै ठूलो महत्व छ । 

लुम्बिनी विकास कोषले मोन्लमजस्ता पूजाहरूलाई नीतिगत रूपमा प्रोत्साहन गर्दै आएको छ । लुम्बिनीमा आयोजना हुने यस्ता पूजाले लुम्बिनीमा धार्मिक पर्यटकहरू आकर्षित हुने र यसले बुद्धका उपदेश र सन्देश थप फैलाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
 

सुझावित समाचार