शुक्रको अग्रता एक स्ट्रोक

शुक्रबार, १२ माघ, २०८०
डिजिटल संस्करण

नेपालका नम्बर एक गल्फर शुक्रबहादुर राईले सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको सूर्य नेपाल इस्टर्न ओपनको दोस्रो दिन एक स्ट्रोकको अग्रतासहित शीर्ष स्थान बलियो बनाएका छन् । उनले समग्रमा २ अन्डर १ सय ३८ स्कोर गरेका छन् । दोस्रो स्थानमा रहेका नीरज तामाङ शुक्रभन्दा एक–एक स्ट्रोकले पछि परेका छन् । धरान गल्फ क्लबमा चलिरहेको प्रतियोगिताको साबिक विजेता शुक्रलाई कडा चुनौती दिँदै नीरजले १ अन्डर १ सय ३९ स्कोर गरेका छन् । नेपालका पूर्वनम्बर एक खेलाडी भुवन नगरकोटीले २ ओभर १ सय ४२ को स्कोर गरे । उनी तेस्रो स्थानमा उक्लिए । उनी एमेच्योर गल्फर युवराज भुजेलसँग संयुक्त रूपमा तेस्रो स्थानमा छन् । 

समग्रमा ४–ओभर १ सय ४४ को स्कोर गरेका रवि खड्का, राजेन राई र भुवनकुमार रोक्का संयुक्त रूपमा चौथो स्थानमा रहेका छन् । तीनै खेलाडीले बिहीबार १ अन्डर ६९ को स्कोर कार्ड बनाए । समग्रमा ६–ओभर १ सय ४६ स्कोरसहित धनबहादुर थापा र रामे मगर संयुक्त रूपमा सातौँ स्थानमा रहे । धनले २ ओभर ७२ र रामेले ५ ओभर ७५ स्कोरमा खेल सकाए । सञ्जय लामा, सूर्यप्रसाद शर्मा र दीपक मगर संयुक्त रूपमा नवौँ स्थानमा रहेका छन् । 

एमेच्योरतर्फ युवराज भुजेल शीर्ष स्थानमा रहेका छन् । उनले समग्रमा २ ओभर १ सय ४२ को स्कोर गरे । उनले गजेन्द्र गुरुङलाई ३ स्ट्रोकले पछि पारे । यो सिजनको पहिलो उपाधि जित्ने दाउमा रहेका शुक्रले दोस्रो दिनको सुरुवात राम्रो गरे । उनले फ्रन्ट नाइनमा २ अन्डर ३४ स्कोर गरेका थिए । फ्रन्ट नाइनमा उनले चार बर्डी निकाले । तेस्रो होलमा एक सट बचाएका उनले पाँचौँदेखि सातौँ होलसम्म लगातार ३ बर्डी प्रहार गरे ।

ब्याक नाइनमा खराब प्रदर्शन
चौथो र नवौँ होलमा उनले एक–एक सट खेर फाले । यसपछि ब्याक नाइनमा शुक्रले खराब प्रदर्शन गरे । १०औँ, १४औँ र १७औँ होलमा बोगी खेप्दा उनले ब्याक नाइन ३ ओभर ३७ स्कोर गरे । ब्याक नाइनको यही खराब प्रदर्शनमा शुक्रले नीरज तामाङविरुद्ध अग्रता बढाउन सकेनन् । नीरजले फ्रन्ट नाइनमा खेल बिगारे । बोगीबाट दिनको सुरु गरेका नीरजले दोस्रो र छैटौँ होलमा बर्डी प्रहार गरे । तर, चौथो होलको डबल बोगी र सातौँ होलको बोगीले उनले फ्रन्ट नाइन २ ओभर ३८ स्कोर गरे । उनले १२औँ, १५औँ र १८औँ होलमा बर्डी प्रहार गर्दा ब्याक नाइन १ अन्डर ३३ स्कोरमा खेल सकाए । भुवनले फ्रन्ट नाइन इभन–पार ३६ स्कोर गरेका थिए । उनले ब्याक नाइनमा १०औँ, ११औँ र १४औँ होलमा एक–एक सट खेर फाले । 

See More On

सुझावित समाचार