दोषी ठहरसमेत भएकालाई जरिवानाको मात्र फैसला भएपछि अनुसन्धान अधिकारीहरू असन्तुष्ट
नेपालबाट कस्तुरीको बिना चोरी–सिकारीमा संलग्न कोरियन गिरोहका एक सदस्यले न्यूनतम सजायमै उन्मुक्ति पाएका छन् । वन कार्यालयले १५ वर्ष कैद सजाय माग गरी मुद्दा दायर गरेकोमा कोरियन नागरिक जंग जुन जुनलाई काठमाडौं जिल्ला अदालतले पाँच लाख मात्र जरिवाना हुने फैसला गरेको हो । अदालतको फैसलासँगै उनी छुटेर कोरिया फर्किसकेका छन् ।
जुन पक्राउ पर्नुलाई प्रहरी र वनका अधिकारीले ठूलो सफलता मानेका थिए । दोषी ठहरसमेत भएका उनलाई जरिवानाको मात्र फैसला भएपछि अनुसन्धान अधिकारीहरूले त्यसप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सो गिरोहले नेपालमा सयौँ कस्तुरी मारेर बिना तस्करी गरेको अनुसन्धानमा खुलेको थियो । जिल्ला न्यायाधीश विनोद खतिवडाको इजलासले गत २१ असोजमा उनलाई दोषी ठहर गरेको थियो । तर, २६ असोजमा सजाय सुनाउँदै पाँच लाख रुपैयाँ मात्र जरिवानाको फैसला भएको हो । डिभिजन वन कार्यालय, काठमाडौंले १५ वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवानाको माग गरेको थियो । पाँच लाख जरिवाना गर्दा कानुनको मकसद पूरा हुने फैसलाको रायकिताबमा उल्लेख छ । तर, फैसलाको पूर्णपाठ भने तयार भइनसकेको जिल्ला अदालत काठमाडौंले जनाएको छ ।
यो सजाय फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को मर्मविपरीत रहेको सिआइबीका एक अधिकारी बताउँछन् । सो ऐनमा सजाय निर्धारण गर्दा कसुरको गम्भीरता र कसुरदारको दोषको मात्रा, कसुरदारको आचरण र विगतको क्रियाकलाप हेर्नुपर्ने उल्लेख छ । दोषी ठहर भएका कोरियन नागरिकले बिना तस्करी गरेर लैजान लागेको स्वीकार गरेको र उनी यसैका लागि पटक–पटक नेपाल आएको अनुसन्धान रिपोर्टमा उल्लेख थियो । साथै, जरिवाना तोक्दा कसुरदारको आर्थिक अवस्था हेर्नुपर्ने ऐनमा उल्लेख छ । १६ पटकसम्म नेपाल आएका जुनलाई कमजोर आर्थिक अवस्थाको व्यक्तिले पाउने न्यून जरिवानाको सजाय सुनाइएको छ ।
संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ को दफा २० को खण्ड (क) अनुसारको अपराधको सजाय दाबी गरी ३१ भदौ ०७९ मा कोरियनविरुद्ध मुद्दा दायर भएको थियो । सो दफाअनुसारको अपराधमा कसुरको मात्राअनुसार पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा पाँच लाखदेखि १९ लाख जरिवनाा वा दुवै सजाय हुने प्रावधान छ । जसमा न्यूनतम पाँच लाख मात्र जरिवाना गरिएको हो ।
नेपालबाट कस्तुरीको बिना लिएर कोरिया जान लागेका जुन १३ असार ०७९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए । उनले लगाएको जुत्ताभित्र बिना लुकाएर कोरिया लैजान खोज्दा उनको साथबाट सात सय १६ ग्राम कस्तुरीको बिना बरामद भएको थियो । सो परिमाणको बिना संकलन गर्न करिब १० वटा कस्तुरी आवश्यक हुने वनका अधिकारी बताउँछन् । साथै, बयानमा उनले सो बिना आफ्नो भएको र औषधिका लागि कोरिया लैजान लागिएको स्विकारेका थिए । सोही आधारमा उनलाई दोषी ठहर गरिएको थियो, तर सजाय भने न्यूनतम भएपछि अनुसन्धानमा आबद्ध अधिकारीले आश्चर्य व्यक्त गरेका छन् ।
अन्तर्राष्ट्रिय गिरोहका सदस्य हुन् जुन
कसुरदार जुन पछिल्लो आठ वर्षमा १६ पटक नेपाल आएका थिए । हरेकपटक आएको भोलिपल्टै कोरिया फर्कनुले उनी घुम्नका लागि नआएको प्रस्ट हुन्छ । उनी बिना तस्करीकै लागि यसरी बारम्बार आएको अनुसन्धान अधिकारीको दाबी थियो । सो गिरोहका नाइके पनि कोरियाकै नागरिक हानौक ली हुन् । जो कोरियाको वन्यजन्तु तस्करीका नाइके भएको खुलेको छ । उनी पनि पटक–पटक नेपाल आएका थिए । त्यस्तै, कर्म राप्ते गुरुङ भन्ने व्यक्तिले नेपालमा सहयोग गरेका थिए ।
ती व्यक्ति जुन पक्राउ परेलगत्तै भागेका थिए । उनको गाडी भने तनहुँमा फालेको अवस्थामा बरामद भएको थियो । उनीहरूलाई पनि प्रतिवादी बनाइएकोमा मुद्दालाई मुल्तबीमा राखिएको छ । फरार लीले कोरियामा आयुर्वेदिक औषधिको आवरणमा यस्तो धन्दा चलाउँदै आएको सूचना प्रहरीले पाएको छ । औषधि तथा महँगा अत्तर बनाउन बिनाको तस्करी हुने गरेको अनुसन्धानले देखाएका छन् । कोरियामा रहेका लीमाथि कानुनी कारबाहीका लागि प्रहरीले इन्टरपोलसँग रेड नोटिस प्रक्रिया अघि बढाएको छ ।
यसरी भएको थियो संगठित गिरोहमाथि अनुसन्धान
जुन पक्राउ परेको करिब दुई महिनासम्म अनुसन्धान अधिकारीले सो गिरोहका सदस्यबारे केही सूत्र फेला पार्न सकेका थिएनन् । जुनले आफ्नी माइजू र सानीआमालाई क्यान्सर भएकाले उनको उपचारका लागि बिना लैजान लागेको बयानमा बताएका थिए । कसले दियो भन्ने प्रश्नमा ठमेलको हिमालय जाभामा भेट भएका एक व्यक्तिले दिएको, तर नाम थाहा नभएको बताए ।
उनकै बयानअनुसार अनुसन्धान टोली हिमालय जाभामा पुग्यो । उनी त्यहाँ गएको पनि पुष्टि भयो । तर, उनलाई बिना दिने व्यक्ति भेट्टाउन सकेन । पछि उनी बस्ने होटेलमाथि प्रहरीले अनुसन्धान गर्यो । त्यस क्रममा ठमेलको फेयरफिल्ड मेरियट होटेलमा बसेको खुल्यो । त्यहीँ बिनाको कारोबार भएको थियो । होटेलको सिसिक्यामेराको माध्यमबाट भएको अनुसन्धानमा कर्म राप्ते गुरुङको पहिचान भएको हो । उनले नै कोरियामा बिना तस्करी गर्न नेपालमा सहयोगीको काम गर्दै आएका थिए । आफ्नो गाडी तनहुँमा बेवारिसे अवस्थामा राखेर फरार भएका थिए । उनी अहिलेसम्म पक्राउ परेका छैनन् ।
पक्राउ परेका कोरियन नागरिक जुनले विगतमा आफू अन्य सामग्रीको व्यापारका लागि नेपाल आउने गरेको बताएका थिए । तर, के सामग्री भन्ने खुलाउन नसकेकाले बिनाकै तस्करीका लागि आउने गरेको अनुसन्धान अधिकारीको दाबी छ । जुन पहिलोपटक सन् २०१४ को १ अप्रिलमा नेपाल आएका थिए । त्यसयता हरेक वर्ष करिब दुईपटक उनी नेपाल आउने गरेको अध्यागमनको ‘ट्राभल रेकर्ड’बाट खुलेको थियो ।
हिमाली जिल्लामा पाइने कस्तुरीको चोरी–सिकारी बढिरहे पनि गिरोहका नाइकेहरू पक्राउ परेका छैनन् । कोरोना लकडाउनको समयमा अन्नपूर्ण संरक्षण क्षेत्रमा कस्तुरीको चोरी–सिकारी भएको थियो । त्यही कस्तुरीको बिना कोरिया तस्करी भएको अनुमान गरिएको छ । नेपालमा वन्यजन्तुको डिएनए परीक्षण गर्ने प्रणाली अझै बन्न सकेको छैन । यदि मृत भेटिएका कस्तुरीको डिएनए गरिएको भए बरामद बिनासँग म्याच गरेर पत्ता लगाउन सहज हुने अनुसन्धानमा आबद्ध सिआइबीका अधिकारी बताउँछन् ।