‘टुरिस्ट गाइड’ एसाेसिएसन अफ नेपाल (टुर्गान)को अध्यक्षमा थानेश्वर देवकोटा निर्वाचित भएका छन् । देवकोटा अध्यक्षका अर्का प्रत्याशी कुमार पुरीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
यस्तै, महासचिवमा टंकप्रसाद दुवाडी, कोषाध्यक्षमा रोहितकुमार फुँयाल निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्षमा प्रभालक्ष्मी प्रधानांग, प्रथम उपाध्यक्षमा शुकदेव सिग्देल, द्वितीय उपाध्यक्षमा उत्तमप्रसाद देवकोटा निर्वाचित भएका छन् । यसैगरी, सचिवमा माधवराज श्रेष्ठ निर्विरोध निर्वाचित भए ।
कार्यसमिति सदस्यमा राजेन्द्रराज बज्राचार्य, नारायण बुढाथोकी, रामहरि तिम्सिना र सरस्वती घिमिरे निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत रमेश खतिवडाले जानकारी दिए ।
साधारणसभाको उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. दीपक काफ्लेले टुरिस्ट गाइड विदेशी पर्यटकलाई नेपालको दूतका रूपमा काम गर्ने भएकाले विदेशी पाहुनालाई राम्रो व्यवहार गरी अन्तर्राष्ट्रियस्तरमा नेपालका बारेमा सही सन्देश प्रवाह गर्न आग्रह गरे । उनले पछिल्लो समय नेपालको पर्यटन क्षेत्र बिस्तारै लयमा फर्कँदै गएकाले सरकारले पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई विशेष जोड दिइरहेको बताए ।
टुरिस्ट गाइड एसोसिएसन अफ नेपालको ३०औँ वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हाे । नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।