सीमा क्षेत्रका बासिन्दालाई सशस्त्र प्रहरीले शैक्षिक वृत्ति दिने

मंगलबार, ९ माघ, २०८०
डिजिटल संस्करण

सीमा क्षेत्रका बासिन्दाका लागि सशस्त्र प्रहरी बलले कल्याणकारी कार्यक्रमहरू घोषणा गरेको छ । २३औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मंगलबार यससम्बन्धी जानकारी गराएका हुन् । 

जसअनुसार सीमा इलाकामा बसोबास गर्ने आदिवासी, जनजाती, दलित, अल्पसंख्यक, विपन्न, पिछडिएको वर्ग तथा सीमान्तकृत समुदायका छात्रछात्रामध्ये सामुदायिक विद्यालयबाट एसइइ परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने १५ जनाले वार्षिक १२ हजारका दरले शैक्षिक वृत्ति पाउनेछन् । 

त्यस्तै, सो क्षेत्रका दुईजना विद्यार्थीलाई नेपाल एपिएफ स्कुलमा कक्षा १० सम्म निःशुल्क शिक्षा दिने निर्णय पनि सशस्त्र प्रहरीले गरेको छ । सीमालक्षित प्रदेशस्तरीय बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने सशस्त्र प्रहरीले जानकारी दिएको छ ।  

अन्तर्राष्ट्रिय सीमा जोडिएका जिल्लामा बसोबास गर्ने सशस्त्र प्रहरीलाई वार्षिक चार प्रतिशत ब्याजदरमा पाँचदेखि दश लाखसम्म सहुलियत आवास कर्जा उपलब्ध गराउने निर्णय गरेको छ । सीमा सुरक्षामा स्थानीय जनतासँग हातेमालो गर्न यी कार्यक्रमहरू ल्याइएको सशस्त्र प्रहरीले जनाएको छ ।

सुझावित समाचार